उद्योगी टेमानी महानगरको सल्लाहकार

वीरगन्जका उद्योगी अशोक टेमानी वीरगन्ज महानगरपालिकाको सल्लाहकारमा नियुक्त भएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, महासंघका पूर्व कार्यकारीणी सदस्य एवं स्थल तथा पारवहन समितिका सभापति भइसकेका टेमानीलाई वीरगन्जको बृहत्तर विकासका लागि सहयोग गर्ने अपेक्षासहित महानगरपालिकाको सल्लाहकारमा नियुक्त गरेको नगर प्रमुख राजेशमान सिंहले बताए । इण्डो नेपाल सोसियो इकोनोमिक फोरमका अध्यक्षसमेत रहेका टेमानीको अनुभव, सल्लाहसुझावले वीरगन्जको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास महानगरपालिकाको रहेको नगर प्रमुख सिंहको भनाइ छ । पारवहन क्षेत्रमा अध्ययन र अनुभव रहेको टेमानी वीरगन्जलाई नै कार्यक्षेत्र बनाएर उद्योग व्यवसायमा संलग्न रहेका छन् । सल्लाहकारमा नियुक्त गरेकोमा महानगर प्रमुख सिंहलाई धन्यवाद दिँदै टेमानीले वीरगन्जको बृहत्तर विकासका लागि आफूलाई थप जिम्मेवार बनाएको बताए । उनले आफूले पाएको जिम्मेवारीलाई इमान्दारिताका साथ वीरगन्जको विकासका लागि योगदान गर्ने बताए । महानगरपालिकाले यसअघि उद्योग अशोक वैदलाई सदभावनादूत नियुक्त गरेको छ । त्यस्तै लायन्स क्लबमा आवद्ध रहेर अन्तराष्ट्रिस्तरमा समेत वीरगन्ज र नेपाललाई परिचित गराएका इन्जिनियर सञ्जय खेतानलाई पनि वीरगन्ज महानगरपालिकाको सल्लाहकारमा नियुक्त गरेको थियो ।