नेपाल र चीनबीच संसदीय सहयोग आदानप्रदान हुने

नेपाल र चीनबीच अन्तर–संसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि झान्शु र सभामुख अग्निप्रसाद सापकोटाबीच सोमबार ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा दुवै पक्षले राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तर–संसदीय आदानप्रदान र सहयोग सुदृढ गर्ने प्रयास गर्ने उल्लेख गरिएको छ ।
समझदारीपत्रमा भनिएको छ, ‘दुवै पक्षले एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन सञ्चालनसमबन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत समेत दुई राष्ट्रबीच अन्तर आवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछ ।’
सभामुख सापकोटाको निमन्त्रणामा चिनियाँ स्थायी समितिका अध्यक्ष ली झान्शु सभामुख सापकोटाबीच सोमबार साँझ नयाँ बानेश्वरस्थित संसद् भवनमा शिष्टाचार भेटवार्ता भएको छ । संसद् सचिवालयका अनुसार संसद् भवनमा अध्यक्ष लीलाई सभामुख सापकोटाले स्वागत गरेका थिए । त्यसपछि दुई जना बीचमा शिष्टाचार भेटवार्ता भएको हो ।
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली सोमबार करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । सोमबार उनले पहिलो भेट सभामुख सापकोटासँग नै गरेका थिए ।
भेटका क्रममा दुई मुलुकको संसद् र यसबारे कामकारबाहीबारे विचार आदानप्रदान भएको बताइएको छ । सोमबार सभामुख सापकोटाले चिनियाँ समकक्षी लि बस्ने होटल सोल्टीमा रात्रिभोज दिएका थिए ।
भ्रमणका क्रममा चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली लगायत नेताहरूसँग भेट गर्ने कार्यतालिका छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता हुनेछ । प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुन:निर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।