आयातमा दोस्रो चीन, निर्यातमा भने १६औं स्थानमा

नेपालको वैदेशिक व्यापारमा उत्तरी छिमेकी चीनको उपस्थिति एकपक्षीय देखिएको छ । आयात व्यापारमा चीन भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको निर्यात व्यापारमा चीन संसारका १५ मुलुकभन्दा पछि रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको पहिलो महिनामा चीनबाट नेपालले १८ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरका सामग्री आयात गरे पनि निकासी भने ६ करोड २५ लाख रुपैयाँ बराबरको मात्र गरेको छ । यसरी चीनसँग नेपालको व्यापारघाटा १८ अर्ब ७० करोड २६ लाख रुपैयाँ बराबर रहेको छ ।
केन्द्रका अनुसार नेपालले चीनभन्दा बढी सामग्री निर्यात भारत, अमेरिकासहित १५ मुलुकसँग गरेको छ । जर्मनी, बेलायत, जापान, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, टर्की, डेनमार्क, नेदरल्याण्ड, कम्बोडिया लगायतका मुलुकमा नेपाली वस्तुको निकासी चीनमा भन्दा बढी रहेको छ । आयात व्यापारमा भने नेपालले भारत र चीनपछि इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, यूएई, अमेरिका, ओमान, अष्ट्रेलिया, भियतनाम, सिंगापुर युक्रेन लगायतका मुलुकबाट सबैभन्दा बढी आयात गरेको तथ्यांक छ ।
विभागका कार्यकारी निर्देशक शरदविक्रम राणाले चीनसँग निर्यात व्यापार खस्कँदै जानु चिन्ताजनक भएको बताए । “हामी भौगोलिक रुपमा नजिक रहेर पनि चीनसँगको व्यापारिक सम्भावनालाई सदुपयोग गर्न सकिरहेका छैनौं,” कार्यकारी निर्देशक राणाले भने, “हाम्रो भौतिक पूर्वाधारको कमजोरीसँगै व्यापारिक झमेलाका कारण यस्तो अवस्था आएको देखिन्छ ।” चीनले भन्सार छुट सुविधा उपलब्ध गराएका वस्तुहरु निकासी गर्न नेपालले नसकेको र त्यसमा संशोधनको आवश्यकता देखिएको उनको भनाइ छ ।
नेपालले गत आर्थिक वर्षमा चीनसँगको व्यापारमा मात्र २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँँभन्दा बढीकोे व्यापारघाटा बेहोरेको थियो । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ९० करोड रुपैयाँको व्यापारघाटा बेहोरेको नेपालले गत आर्थिक वर्षमा ३१ अर्बमात्रले व्यापारघाटा बढे पनि निकासी व्यापारको अवस्था भने दयनीय देखिन्छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले आव २०७७/०७८ मा चीनतर्फ १ अर्ब १ करोड ६० लाख रुपैयाँको वस्तु निकासी गरेकोमा गत आवमा भने ८० करोड ८७ लाख ५४ हजार रुपैयाँमात्रैको निकासी गर्न सफल भएको छ । यसरी एक वर्षमा आयातमा ३१ अर्बले बढे पनि निर्यात भने २१ करोडले कमी आएको छ ।
चीनतर्फका दुवै नाका रसुवागढी र तातोपानीबाट गत आर्थिक वर्षमा निर्यात शून्य रहेको छ । विभागका अनुसार दुवै नाकाबाट आयात उल्लेख्य रहे पनि निर्यात भने शून्य रहेको तथ्यांक छ । अघिल्लो आवमा पनि दुवै नाकाबाट एकतर्फी व्यापार भएको तर निकासी भने नभएको विभागको तथ्यांकमा उल्लेख छ । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट गत आवमा १४ अर्ब २ करोड ३७ लाख रुपैयाँ बराबरको सामग्री आयात भएको छ भने रसुवाको रसुवागढी नाकाबाट २६ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ बराबरको आयात भएको छ । चीनबाट गत आवमा २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपैयाँ बराबरको सामग्री आयात भएकोमा २ खर्ब २४ अर्ब रुपैयाँ बराबरको सामग्री भने कोलकाता बन्दरगाह तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै भित्रिएको छ । यसरी कमजोर भन्सार पूर्वाधारका कारण चीनसँगको व्यापारमा नेपालले अपेक्षित लाभ पाउन नसकेको व्यवसायीहरुको भनाइ छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ चीनसँगको व्यापारमा कमी आउनुमा प्राकृतिक कारण देखाइए पनि यसमा कूटनीतिक कमजोरी पनि रहेको बताउँछन् । “हाम्रा समस्या के हुन् भन्ने सरकारमा बस्ने सबैलाई थाहा छ, तर समाधान किन भइरहेको छैन भने यो प्राकृतिकभन्दा कूटनीतिक विषय बनिसकेको छ,” उनी भन्छन् । चीनमा निर्यात व्यापारको असीमित सम्भावना रहे पनि नेपालले लाभ पाउन नसक्नुको कारण कूटनीतिक कमजोरी नै भएको उनको भनाइ छ ।