केराउ, सुपारी र मरिचको आयात खुला «

केराउ, सुपारी र मरिचको आयात खुला

विगतमा तस्करी भएर आएको आशंकाका कारण बन्द गरिएको केराउ, सुपारी र कालो मरिच सरकारले आयात खुला गरेको छ । तेस्रो मुलुकबाट सुपारी, केराउ र कालो मरिच आयात गरेर भारतमा तस्करी गर्ने गरेको तथा तस्करीमा संलग्न व्यक्तिबाट राजनीतिक नेतृत्वले समेत लाभ लिने गरेको आरोपका बीच ०७६ चैत २४ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर सुपारी, मरिच र केराउको आयातमा प्रतिबन्ध लगाएको थियो ।
तर, उद्योगहरुले औद्योगिक प्रयोजनका लागिसमेत केराउ, सुपारी र मरिच आयात गर्न नपाएपछि सरकारले आयात खुला गरेको जनाएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आयातमा बन्देज लगाएको भए पनि औद्योगिक प्रयोजनका लागि भने खुला गरेको हो ।
‘नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाई खण्ड ६९, संख्या ५२, २०७६ चैत २४ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकोमा सोही दफाको उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८’ को प्रक्रिया पूरा गरी आयात खुला गरेको छ,’ राजपत्रमा उल्लेख छ ।
कार्यविधिअनुसार सम्बन्धित उद्योगले उद्योग विभागको सिफारिसमा वाणिज्य आपूर्ति तथा संरक्षण विभागबाट अनुमति लिएर चालू आर्थिक वर्षको असारसम्म केराउ, सुपारी र मरिच औद्योगिक प्रयोजनका लागि आयात गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्