वैदेशिक व्यापार र चीनसँगको असहजता «

सीमामा देखिएको समस्याका कारण न्यून मात्रामै भए पनि नेपालबाट चीनतर्फ निर्यात हुने वस्तुहरूको निर्यात पनि अवरुद्ध बनिरहेको छ ।

वैदेशिक व्यापार र चीनसँगको असहजता

वैदेशिक व्यापार देशको आर्थिक विकासको दिगो र भरपर्दो आधारस्तम्भ हो । खुला तथा उदार व्यापार नीति अवलम्बन गरेको दशकौं बितिसके पनि नेपालमा यस किसिमको नीतिको सकारात्मक प्रभाव पर्न र मुलुकले अपेक्षित रूपमा व्यापार उदारीकरणको लाभ लिन सकेको छैन । उत्तरी छिमेकी चीनसँगको व्यापार नेपालका लागि आर्थिक र सामरिक दुवै हिसाबले महŒवपूर्ण रहेको छ । तर, नेपालले चीनसँगको व्यापारबाट समेत अपेक्षित लाभ लिन नसकेको मात्र हैन, चीनसँगका मुख्य दुई सीमा नाका तातोपानी र रसुवागढीमा सहज रूपमा व्यापार हुन नसकेको लामै समय बितिसक्दा समेत यसको समाधानका लागि मुलुकले पर्याप्त ध्यान पुर्‍याउन सकेको छैन ।
भारत हुँदै चिनियाँ वस्तु आयात गर्नुभन्दा सीधै उत्तरतिरका नाकाबाट आयात गर्दा सामानहरूको मूल्य र ढुवानीका लागि लाग्ने समयका हिसाबले नेपाललाई निकै फाइदा हुन्छ । अर्कातर्फ, दुई ठूला र शक्तिशाली राष्ट्रहरूका बीचमा रहेको नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि उत्तरी सीमा नाका सहज र सक्रिय हुनु सामरिक रूपमा समेत नेपालका लागि महŒवपूर्ण रहन्छ । यसले वैदेशिक व्यापारका सन्दर्भमा एउटा मात्रै देशसँगको अति निर्भरतालाई घटाउनुका साथै नेपालको वैदेशिक व्यापारको आयामलाई समेत थप सशक्त र फराकिलो बनाउँछ । तत्कालीन समयमा भारतले लगाएको नाकाबन्दीपछि चीनसँगको व्यापार र उत्तरी सीमा नाकाको महŒव सिंगै देशले नै महसुस गरेको थियो । उक्त समयमा उत्तरी सीमाबाट तेलदेखि रेलसम्म ल्याउन सकिने विषयमा निकै ठूल्ठूला चर्चाहरू हुने गरेका थिए । तर, बिस्तारै नाकाबन्दीको मारबाट मुक्त भएसँगै उत्तरतर्फको व्यापारलाई महŒव दिने विषय बिस्तारै ओझेलमा परेको मात्र हैन, हाल महिनौंसम्म तातोपानी र रसुवागढी नाकाको असहजतालाई समाधान गर्न ठोस पहलकदमी नलिनु आम नेपालीजनका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।
चीनसँगका दुई मुख्य सीमा नाकामा लामो समयसम्म असहज बन्न पुग्दा यसका चौतर्फी असरहरू देखा परेका छन् । नेपाल भित्रने क्रममा रहेका मालवाहक गाडीहरू सीमा नाकामा महिनौंसम्म रोकिएर बस्दा सामान आयात गर्ने व्यापारीहरू प्रताडित बनिरहेका छन् । यसले आयातित सामानहरूको मूल्यमा बढोत्तरी हुने र यसै पनि चर्को मूल्यवृद्धिको मार खेपिरहेका नेपाली उपभोक्ताहरूलाई थप पिडित बनाउने देखिन्छ । दसंै, तिहारजस्ता नेपालका ठूला चाडपर्वहरू नजिकिएको सन्दर्भमा बजारमा सामानहरूको उपलब्धतामा समेत असर पुर्‍याउने अवस्था रहेको छ । अर्कातर्फ, सीमामा देखिएको समस्याका कारण न्यून मात्रामै भए पनि नेपालबाट चीनतर्फ निर्यात हुने वस्तुहरूको निर्यात पनि अवरुद्ध बनिरहेको छ । यस्तो स्थिति देखा पर्दासमेत चीनसँगका मुख्य दुई सीमा नाकालाई सहज बनाउनेतर्फ नेपाल सरकारले यथेष्ट ध्यान पुर्‍याउन सकेको छैन ।
हुन त नेपाल र चीनबीचको व्यापारको अवस्था भने नेपालका लागि सन्तोषजनक रहेको छैन । नेपालका आमसञ्चारमाध्यमहरूलगायत बौद्धिक वृत्तमा भारतसँगको व्यापारघाटाका बारेमा प्रशस्त चर्चा हुने गर्छ । तथापि, चीनसँगको व्यापारको अवस्था पनि उत्तिकै कहालीलाग्दो अवस्थामा रहेको देखिन्छ । गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने चीनबाट नेपालमा २ खर्ब ६४ अर्बबराबरको आयात हुँदा चीनतर्फ भने ८० करोडबराबरको मात्रै निर्यात हुन सकेको छ । यसरी हेर्दा, चीनबाट प्रत्येक १ सय रुपैयाँको आयातको तुलनामा नेपालले केवल ३० पैसा हाराहारीको मात्रै निर्यात गर्ने गर्छ । चीनबाट नेपालमा आयात गरिने मुख्य वस्तुहरूमा सञ्चारजन्य सामग्री, तयारी पोसाक र कपडा, अन्य मेसिनरी, इलेक्ट्रिक सामग्री, कम्प्युटर र यसका पार्ट्स रहेका छन् । यसैगरी ऊलन कार्पेट, हस्तकलाका सामान, तयारी पोसाक, छाला र पस्मिना नेपालबाट चीनतर्फ निर्यात गरिने मुख्य वस्तुहरू हुन् । चीनले नेपाललगायत विश्वका अतिकम विकसित मुलुकहरूबाट निर्यात हुने ९८ प्रतिशत वस्तुहरूमा भन्सार शुल्क शून्य कायम गरेको छ । नेपालबाट निर्यात गर्न सकिने थुप्रै वस्तुले यस किसिमको भन्सार सहुलियत प्राप्त गर्न सक्ने अवस्था छ । तर, नेपालले चीनले दिएको शून्य भन्सार सुविधाको लाभ उठाउन पटक्कै सकेको छैन ।
नेपाल–चीन व्यापारलाई मुलुकका पक्षमा फलदायी बनाउन थुप्रै सुधारहरू आवश्यक छन् । व्यापारका लागि यी दुई मुख्य सीमा नाकाबाहेक अन्य सीमा नाकाहरूसमेत विस्तार गरिन आवश्यक छ । कोरोला नाकाको चर्चा निकै समयदेखि चलिरहेको र यस नाकाको सञ्चालनका लागि चीनको तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसके तापनि नेपालतर्फ आवश्यक पूर्वाधार तयार हुन सकेको छैन । यसतर्फ पनि पर्याप्त ध्यान पुग्न र कोरोला नाकालाई समेत सकेसम्म चाँडो सञ्चालनमा ल्याइन आवश्यक छ । निर्यातलाई विविधीकरण र विस्तार गरी चीनसँगको व्यापारघाटालाई कम गर्ने, चीनले उपलब्ध गराएको भन्सार सहुलियतको भरपुर उपयोग गर्नेलगायत चीनसँगको व्यापारबाट फाइदा लिन सक्ने किसिमका रणनीतिहरू तय गरी कार्यान्वयन गरिन पनि उत्तिकै आवश्यक छ । यसो हुन सकेमा मात्रै चीनसँग समेत विकराल रूपमा बढिरहेको व्यापारघाटा कम भई मुलुकले आर्थिक स्थायित्व र समृद्धि हासिल गर्न सक्ने देखिन्छ ।
नेपालले चीनसँगका नाकालाई जति सक्रिय बनाउन सक्यो, देशलाई उति नै लाभ पुग्ने तथ्यलाई आत्मसात् गरी नेपाल सरकारले चीनसँगका दुई मुख्य सीमा नाकामा देखिएको असहजतालाई हटाउन यथेष्ट पहल गर्न ढिला भइसकेको छ । त्यसैले, थप क्षति बढाउनभन्दा अविलम्ब यस विषयको समाधानमा लाग्न सरकारको ध्यान पुग्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्