हेटौंडा-तीन नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बिहीबार बैठक सकिएको छ । दिउँसो १ बजे बसेको बैठक २ः३० मा सकिएको हो । बैठकले प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरेको छ । त्यसैगरी कार्यविधि बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सभामुखले रामेश्वर फुयाँल, धनश्याम दाहाल, गिता वाग्ले र शोभा शाक्यलाई मनोनयन गरेको जानकारी दिइएको थियो । बैठकले सभामुखको निर्वाचन माघ २७ गते गर्ने निर्णय गरेको छ ।
बैठकमा नेकपा एमालेको तर्फबाट प्रदेश सदस्य अष्टलक्ष्मी शाक्य, नेकपा माओवादीबाट शालिकराम जमरकट्टेल, नेपाली कांग्रेसबाट ईन्द्रबहादुर बानियाँ, विवेकशिल साझाबाट रमेश पौडेल, नेमकिपाबाट सुरेन्द्र गोसाई, राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ, राप्रपाबाट रिता माझी र नयाँ शक्तिबाट प्रेमबहादुर लामाले धारणा राखेका थिए ।
बैठक शुरुमा बैठकको सदस्यता गरिरहेका ज्येष्ठ सदस्य डोरमणी पौडेलले प्रदेशप्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।
प्रदेशमा पनि प्रतिनिधिसभाकै झल्को प्रादेशिक संरचनापछिको पहिलो प्रदेशसभा बैठकमा प्रतिनिधिसभाकै झझल्को महसुस गरिएको छ । अधिकांश सदस्य विगतमा प्रतिनिधिसभामा सदस्य भइसकेका र सहजीकरणका लागि संघीय संसद्को केन्द्रीय टोली खटिएपछि प्रदेशको पहिलो बैठकमा संसदीय अभ्यासमा खासै अन्योल देखिएन । प्रदेशको अस्थायी मुकाम हेटौँडामा सम्पन्न प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठक शुरु हुनुअघि मर्यादायापालकले ‘माननीय सभामुख महोदय’ र ‘माननीय सभामुख महोदय’ भनेर उद्घोष गरेपछि सचिवालयका कर्मचारी र मर्यादापालकका साथ ज्येष्ठ सदस्य डोरमणि पौडेल सभास्थल प्रवेश गरे । सभामुख आएपछि सबै सदस्य स्थानबाट उठ्नुभयो र राष्ट्रियगान प्रस्तुत भयो । अध्यक्षता गरेका पौडेलले बैठकको कार्यवाही प्रारम्भ गर्दै प्रदेश प्रमुखको बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि ज्ञातअज्ञात शहीदका सम्मानमा एक मिनेट मौनधारण गरियो । त्यसपछि दलीय प्रतिनिधिका आधारमा बोल्ने क्रम शुरु भयो र घोषित कार्यसूचीमा निर्णय भयो । बैठकमा ११० सदस्यमध्ये एक सदस्य मात्र अनुपस्थित थिए । सो प्रदेशमा सात दलका र एक स्वतन्त्र सांसद् छन् । पूर्वनिर्धारित समयअनुसार अपराह्न १ बजे शुरु भएको बैठक करीव एक घन्टा चलेको थियो । बैठकमा अधिकांश सदस्य दौरासुरुवाल र साडीचोलोमा आएका थिए । सदस्यको बस्ने कुर्सीसँगै टेबल नभएकाले प्रस्ताव पारित हुँदा ढ्यापढ्याप बजाइएको आवाज भने सुनिएन । बैठकस्थलमा प्रवेशका लागि कर्मचारीका लागि नीलो, भित्रसम्म जाने पत्रकारका लागि रातो र परिसरसम्मका लागि पहेँलो प्रवेश पासको व्यवस्था गरिएको थियो । दर्शकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरे, कामु क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, मकवानपुरका प्रजिअ चक्रबहादुर बुढा, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललगायत उपस्थित थिए । केही दिन पहिले नै क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा प्रदेशसभाको बैठकस्थल बनाइएकाले तयारी तुलनात्मक रुपमा सहज देखिएको थियो । निर्देशनालयको मुख्य प्रवेशद्वारमा कडा सुरक्षा व्यवस्था भए पनि भवनको चारैतिर पर्खाल भत्किएकाले यसलाई स्थायी संसद् भवन बनाउने हो भने थप व्यवस्थित गर्नुपर्ने प्रदेशसभा सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले बताए । प्रदेशसभा भवन शहीद वासुदेव स्मृति भवन, हुप्रचौरमा सार्न सकिने विकल्पमा पनि छलफल भएको छ । ज्येष्ठ सदस्य पौडेलले आफू संसदमा पहिलो पटक पुगेको र अध्यक्षता पहिलो पटक गरेकाले नयाँ अनुभव भएको बताए । उनले पार्टीले जिम्मेवारी दिएमा आफू भावी सभामुख वा मुख्यमन्त्रीका लागि तयार रहेको जनाए । मकवानपुरबासी एमाले नेता पौडेल लामो समय शिक्षण पेशामा संलग्न भई हैटौँडा नगरपालिकाको दुई कार्यकाल प्रमुख भएका थिए । बैठकमा सदस्यभन्दा पछिल्लो लहरमा सञ्चारकर्मीका लागि प्रवेश पासका आधारमा स्थान निर्धारण गरिएको तथा प्रोजेक्टरमार्फत सभास्थल परिसरमा प्रत्यक्ष प्रसारण गरिएको थियो । राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमले त्यसबाट प्रत्यक्ष प्रसारण गरेका थिए । बैठक शुरु हुनुअघि र सकिएपछि सांसद्का प्रतिक्रिया लिन सञ्चारकर्मी व्यस्त देखिन्थे । संघीयता लागू भएपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिको पनि बाक्लो उपस्थिति थियो । मुलुकको राजधानी काठमाडौँसहित १३ जिल्ला रहेको प्रदेश नं ३ को प्रदेशसभाको पहिलो अधिवेशनका लागि प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गरेकी थिइन् ।
|