भवन ठेक्काबारे निलम्बित प्रधानन्यायाधीश राणाको स्वीकारोक्ति

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का सदर गर्ने काममा आफूले गल्ती गरेको स्विकार गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको महाभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा उनले सो कुरा स्विकार गरेका हुन् ।
समितिका सदस्यहरुले सोधेका सो सम्बन्धि प्रश्नको जवाफ दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले रजिष्ट्रारले सदर गर्नुपर्ने सो फाइल आफूले सदर गरेर गल्ती गरेको बताए । सो क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले सहयोग गरेको पनि जबराले बताएको समितिका सदस्य समेत रहेका कांग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए । बैठकमा जबरामाथि भ्रष्टाचारसम्बन्धि प्रश्नहरु सोधिएको थियो । यसैबीच, समितिले जबरामाथि लगाइएको महाभियोगको डकुमेन्टेसनको काम भने यही भदौ २८ गतेदेखि सुरु गर्ने महाभियोग सिफारिस समितिले जनाएको छ । समितिका सदस्य एवम् एमालेका सांसद कृष्णभक्त पोखरेलले जबरामाथि लगाइएको अभियोग पुष्टि हुने खालका डकुमन्टहरुको व्यवस्थापन गर्ने काम २८ गतेबाट सुरु गर्ने योजना तय गरिएको बताए ।
प्रमुख प्रतिपक्षी एमालेले जबरामाथि लगाइएको महाभियोग प्रस्ताव अघि बढाउने काममा ढिलाई भएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।