Logo

कर्मचारीलाई अभिमुखीकरण

गुल्मीमा स्थानीय तहका लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । प्रदेश सुशासन केन्द्र बाँकेको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।
अभिमुखीकरण कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणा, राष्ट्रिय प्रावधान दिगो विकास लक्ष्य, योजना तर्जुमा चरण, लैंगिक उत्तरदायी बजेट र यससम्बन्धी आगामी रणनीति तथा कार्यान्वयनको विषयमा अभिमुखीकरण गराइने छ । कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले अभिमुखीकरणमा सिकेको सिकाइ कार्यान्वयनमा लैजान आग्रह गरे । “लैगिंक समानताको विषयमा सबै क्रियाशील भएर लाग्नुपर्दछ,” प्रमुख अतिथिसमेत रहेका खत्रीले भने, “अभिमुखीकरणमा सिकेका कुरा आफ्नो स्थानीय तहका जनप्रतिनिधिमार्फत गाउँगाउँमा पुर्‍याउने अभियान सुरु गर्नुस् ।” खत्रीले लैंगिक समानता र सामाजिक समावेशीकरणको विषयमा आफूहरू गम्भीर रहेको बताए ।
अभिमुखीकरण कार्यक्रममा रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले समुन्नतको सपना पूरा गर्नका लागि लैंगिक समानता कायम हुनुपर्ने बताए । “हामीले देखेको समुन्नतको सपना पूरा गर्न लैंगिक समानता र सामाजिक समावेशीकरणमा ध्यान दिनुपर्दछ,” नगरप्रमुख पन्थीले भने, “स्थानीय सरकारले लैगिंक विभेद हटाउन अभियानको रूपमा काम गर्नुपर्दछ ।” उनले नगरपालिकाले यस विषयमा थुप्रै कार्यक्रम गर्ने बताए । उनले अन्य जिल्लाबाट कार्यक्रममा सहभागी भएका कर्मचारीलाई पवित्र तपोभूमि रेसुंगा पुग्नसमेत आग्रह गरे ।
कार्यक्रममा स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण हेर्ने सम्पर्क व्यक्ति ३७ जनालाई अभिमुखीकरण गराइनेछ । जसमा गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानकाका ३७ स्थानीय तहका ३७ कर्मचारी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्