देविस्थानमा विद्युत सेवा विस्तार «

देविस्थानमा विद्युत सेवा विस्तार

म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको मगरदाङमा केन्द्रीय प्रसारणलाइनको विद्युत सेवा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले मगरदाङका ४ सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा विस्तार गरेको हो ।
प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले दुई सय केभीए क्षमताको ट्रान्सफर्मरमार्फत मगरदाङमा विद्युतीकरण गरिएको जानकारी गराए । “मुख्य, शाखालाइन, ट्रान्सफर्मरलगायतका संरचना निर्माण तथा जडान गरेर २५ भदौदेखि विद्युत सेवा वितरण थालिएको छ,” उनले भने, “मगरदाङमा विद्युत विस्तार गर्न संघीय सरकारको करिब दुई करोड ५० लाख लगानी भएको छ ।” मगरदाङका बासिन्दा रातिका समयमा उज्यालोका लागि लघुजलविद्युतमा निर्भर रहेका थिए । वि.सं २०७७ मा दाङखोलामा आएको बाढीले २५ किलोवाट क्षमताको मगरदाङ डाँडागाउँ–आशाटोल लघुजलविद्युत परियोजनाको विद्युतगृह, नहर र जेनेरेटरमा क्षति पुर्‍याएपछि त्यस क्षेत्रका स्थानीय विद्युत सेवाबाट वञ्चित हुनुपरेको थियो ।
मालिका गाउँपालिका–५ का वडाध्यक्ष मीम पुनले केन्द्रीय प्रसारणलाइनको विद्युत सेवा सुविधा विस्तार भएपछि दैनिक घरायसी काम, विद्यार्थीलाई पठनपाठन गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको बताए । विद्युत सेवा विस्तारसँगै फर्निचर, पाउरोटी उद्योग, विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, वडा र अन्य कार्यालयको प्रशासनिक काम सहज भएको छ ।
केन्द्रका प्रमुख प्रशान्त झाले गतआर्थिक वर्षमा थप ११ किलोमिटर ११ केभी र चार सय/दुई सय भोल्टेजको ९५ किलोमिटर शाखा लाइन विस्तार भएको बताए । घरथोक, पन्थोक, जुग्जा र छुटेका बस्तीमा चालू आर्थिक वर्षभित्रमा विद्युत सेवा विस्तार गर्ने तयारी भएको छ ।
चालू आर्थिक वर्षमा मालिकाको रुम, स्याउलुङ, औल, रघुगंगाको पात्लेखर्क, धवलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्