Logo

साउदीमा अलपत्र श्रमिकको उद्धार

साउदीमा अलपत्र जुम्लाका ९ जना कामदारको उद्धार गरिएको छ । वैदेशिक रोजगारीका लागि साउदीमा पुगेको जुम्ला गुठीचौर गाउँपालिकाका–१ का ९ जना कामदार अलपत्र परेका थिए । महिना दिनदेखि उद्धारका लागि गुहार गरिरहेका ९ जना जुम्ली कामदारको उद्धार गरी आइतबार नेपाल फर्किंदैछन् ।
गुठीचौर गाउँपालिका–१ वडाध्यक्ष अर्जुनकुमार महतारा, राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही र राप्रपाका युवा नेता अनुप थापाको पहल र अगुवाईमा साउदीमा अलपत्र ९ जना जुम्लाका कामदारको उद्धार गरिएको छ । प्रवक्ता तथा प्रतिनिधिसभा उम्मेदवार शाहीले उद्धारका लागि नेपाल र साउदीको राजदूतावासलगायत विभिन्न निकायमा पहल गरेका थिए ।
वडाध्यक्ष महतारा र युवा नेता थापाले आर्थिक संकलन गरेका थिए । तीनै जना युवा नेताको साँझा पहलमा साउदीमा अलपत्र ९ जनाको उद्धार गरिएको अनुप थापाले बताए । उनका अनुसार कहाँबाट कसले कति आर्थिक सहयोग गरेको भन्ने एकिन भई नसकेकाले त्यसबारे पछि खुलाइने छ ।
साउदीमा अलपत्र पर्नेमा गोठीचौर गाउँपालिका–१ का नीराजन थापा, डिलबहादुर रोकाय, शान्तबहादुर रोकाय, खड्ग रोकाय, लक्ष्मीबहादुर रोकाय, प्रताप लामा, एकराज ऐडी, आनन्द रोकाय, जनक बूढा छन् ।
वडाध्यक्ष महताराले भने, “राम्रो तलब दिने कुनै गडबढ नहुने भनी नेपालबाट ‘ब्लु ग्यालेक्सी’ कम्पनीले साउदी पठाएको रहेछ । तर साउदीमा ‘क्यू सिएम’ कम्पनीले जुन काम र तलब दिन्छु भनी लिएको थियो त्यो काममा नलगाएर अर्कै काममा लगाई तलब पनि नदिँदा अलपत्र परेका ९ जना जुम्ली नागरिकको उद्धार गरेका छौं ।”
नेपालबाट बैंक क्लिनर र हस्पिटल क्लिनरको रूपमा पठाइएपनि आर्मी ब्यारेकमा काम लगाइदिएको थियो । एकहजार साउदी तलब दिने भनिएपनि ८ सय मात्रै दिएको त्यो पनि पूरा नदिएपछि महिनादिनदेखि साउदीमा जुम्ली कामदार अलपत्र रहेको युवा नेता अनुप थापाले बताए । उनका अनुसार राज दूतावास पहलदेखि टिकट व्यवस्थापनमा समेत ज्ञानेन्द्र शाहीले गरेका थिए ।
उनीहरूले आठ महिना काम गरेकोमा जम्मा ६ महिना बराबरको तलव पाएको गुनासो गरेका छन् । उनीहरू सबै जना ११ सेप्टेम्बरमा नेपाल आइपुग्ने छन् । नेपाल आइसकेपछि ‘ब्लु ग्यालेक्सी’ मेनपावर कम्पनीविरुद्ध वडाअध्यक्ष महताराको नेतृत्वमा उजुरी दिनेसमेत तयारी भइरहेको छ ।
उद्धारपछि नेपाल आउने पक्का भएपछि साउदीमा अलपत्र जुम्ली कामदार खुसी भएका छन् । अब जुम्लाकै केहि इलम गरेर बस्नेसमेत उनीहरूको भनाइ छ । आइतबार साँझ नेपाल पुग्दैछन् ।

फोटो क्याप्सन: साउदीमा अलपत्र जुम्लाका कामदार । तस्बिर:सागर परियार ।

प्रतिक्रिया दिनुहोस्