श्रमिक उद्धारमा मन्त्रीको सकृयता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्दारमा सरकार लागिपरेको बताए ।
आइतबार मन्त्रालयमा श्रमिकसँग श्रममन्त्री कार्यक्रमअन्तर्गत श्रमिकहरूसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्धारका लागि सरकार लागिपरिरहेको बताएका हुन् । उनले समस्यामा परेका श्रमिकहरूको अवस्थाको सम्बन्धमा नेपालका राजदूतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदुतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने बताए ।
उनले आवश्यकता अनुसार सम्बन्धित देशको सरकारसँग पनि कुराकानी गर्ने बताए । मन्त्री कुँवरले विदेशिएका श्रमिकहरूबाट नै देश चलिरहेको भन्दै श्रमिकहरू हेपिएको, चेपिएको विषयलाई गम्भिर ढंगले कुरा उठाउनुपर्ने बताए । उनले श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र सरकार नबस्ने स्पष्ट पारे ।
मन्त्री कुँवरले विदेशी कम्पनीहरूले नेपाली कामदारलाई बाहिर आउन नदिने भएको अवस्थामा त्यहाँको सरकार सँग कुरा गर्ने बताए । उनले गल्ती काम गरेका मेनपावरहरूलाई कारबाही गरिने पनि बताए ।