Logo

विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन माग

फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई नि:शुल्क गर्न व्यवसायीहरूले माग गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरूको बृहत् प्रदर्शनीमा कारोबारसँग कुराकानी गर्दै व्यवसायीहरूले व्यवसाय टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग गरेका हुन् ।
फर्निचर तथा फर्निसिङ व्यवसायका लागि कच्चा सामग्रीहरू भारत लगायत तेस्रो मुलुकबाट आउने गरेको र तयारी सामग्रीको जति नै भन्सार शुल्क तिर्नुपरेको दुखेसो व्यवसायीहरूले गरेका छन् । कारोबारसँग कुरा गर्दै एसपी ग्यालरीका अध्यक्ष रामचन्द्र शर्माले कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्कलाई कम अथवा मिनाहा गर्न सरकारसमक्ष माग गरे ।
उनले भन्सार शुल्क बढी भएमा विदेशी उत्पादनसँग नेपाली उत्पादनले प्रयोग गर्न नसक्ने उनको भनाइ छ । करको दायरा घटेमा यो व्यवसायको दायरा अझ फराकिलो हुने र देशमा धेरैभन्दा धेरै रोजगारी सिर्जना हुने उनले बताए ।
त्यस्तै युनाइटेड फम एन्ड मेट्रेस इन्डष्ट्रिजका सञ्चालक दिलसाद आलमले काठका सामग्रीहरू विदेशबाट लिनुपरेको भन्दै फर्निचरवालाहरूलाई टेन्डरमा लगाएर नेपालकै प्रयोग गर्न लगाउनुपर्ने बताए । उनले नेपालकै फर्निचर तथा फर्निसिङ सामग्रीहरूलाई प्रयोग गर्ने चलन बढेको बताए ।
त्यसैगरी व्यवसायी द्रोण न्यौपानेले नेपालमा विदेशी उत्पादनको तुलनामा नेपाली उत्पादन नै बढी बिक्री भइरहेको बताए । स्वदेशी फर्निचर तथा फर्निसिङप्रति नेपालीहरूको विश्वास बढ्दै गइरहेको उनको भनाइ छ ।
भृकुटीमण्डपमा जारी प्रदर्शनी भदौ २७ गतेसम्म चल्ने जनाइएको छ । फर्निचर तथा फर्निसिङ सामग्रीहरूको बृहत् प्रदर्शनीमा अवलोकन कर्ताहरूको भीड लागेको छ । प्रदर्शनीमा सोचे भन्दापनि धेरै अवलोकन कर्ताहरूले अवलोकन गरेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्