३ सातामा साढे ९ करोड सापटी भुक्तान «

३ सातामा साढे ९ करोड सापटी भुक्तान

सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट ९ करोड ५० लाख रुपैयाँ विशेष सापटी लिएका छन् । कोषले यही भदौबाट सुरु गरेको सापटी योजनाअन्तर्गत ३ सातामा ७ सय श्रमिकले निवेदन दिएकोमा बिहीबारसम्म ५ सय श्रमिकलाई ९ करोड ५० लाख रुपैयाँ भुक्तनी दिएको छ ।
सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा लिन सक्ने भए पनि विशेष सापटीको प्रक्रिया छिटो हुने भएकाले धेरै श्रमिकले यो सुविधा लिएको कोषका सहप्रवक्ता रोहित रेग्मीले बताए । सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी योजना भदौ १ बाट सुरु गरिएको थियो । कोषले सापटी योजना अन्तर्गत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना सुरु गरेको छ । यी ४ वटा योजना श्रमिकले जम्मा गरेको रकमको ८० प्रतिशत सापटी पाउने योजना हुन् ।
कोषका सहप्रवक्ता रेग्मीले योगदानकर्ता सापटी निर्देशिका अनुसार प्रक्रिया सरल मानिएको विशेष सापटी योजना सेवा सुरु भएको बताए । उनका अनुसार अन्य योजना पनि कार्यान्वयन आएको जनाउँदै प्रक्रियाका हिसाबले विशेष सापटी दुई कार्यदिनमा नै लिन सकिने भएकोले यसबाट सुरु भएको हो । “कोषमा हाल ७ सयभन्दा बढी आवेदक श्रमिक सापटी पाउन योग्य देखिएका छन्,” उनले भने, “योगदानकर्ता विशेष सापटी लिन कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष सेवा अवधि बाँकी रहेका योगदानकर्तालाई निजको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रकमसम्म प्रदान गर्न सकिने छ ।” निर्देशिका अनुसार विशेष सापटी लिएको योगदानकर्ताले चाहेमा एक वर्ष पूरा भएपछि पुन: विशेष सापटी लिन सक्ने प्रावधान रहेको छ । यसैगरी साविकमा लिएको सापटी चुक्ता गरेमा जुनसुकै समयमा पुन: विशेष सापटी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।
कोषमा योगदान रकम नियमित जम्मा गरेको ३ वर्षपछि सापटी लिन सकिने व्यवस्था रहेको हुनाले ३ वर्ष पुगेका सबैले सरल प्रक्रियामा सापटी लिन सक्ने कोषले जनाएको छ । विशेष सापटी लिएका योगदानकर्ताले मासिक तलबबाट कट्टी गरी वा कोषले तोकेको बैंक खातामा पटकपटक वा एकै पटक जम्मा गरी सापटी रकम चुक्ता गर्न सक्ने जनाइएको छ । कोषबाट प्रदान गरिने विशेष सापटी माग गर्ने तथा भुक्तानी अनलाइन प्रणालीमार्पmत समेत गर्न सकिने छ । सापटी लिन चाहने योगदानकर्ताले आफू कार्यरत कार्यालयको सिफारिसका साथ कार्यालयको छाप लगाई कोषको कार्यालयमा पेश गर्नुपर्ने छ । विशेष सापटी नागरिकता र कोषले प्रदान गरेको परिचयपत्रको प्रतिलिपि पेश गरेपछि तत्कालै नगद पाउने भएकाले यसमा आकर्षण बढ्ने कोषको अनुमान छ । विशेष सापटी बाहेक अन्य सापटीको हकमा भने कोषले तोकेअनुसार धितो राख्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्