जनकपुर–जयनगर रेल असोजदेखि «

जनकपुर–जयनगर रेल असोजदेखि

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल सेवा आउँदो असोजबाट सन्चालनमा आउने भएको छ । रेलका लागि इन्जिन किन्नेसम्बन्धी सम्झौता भइसकेकाले आगामी असोजबाट रेल सञ्चालनमा आउने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।
“एक अर्ब रुपैयाँ खर्चिएर इन्जिन किन्न लागिएको हो,” चित्रकारले भने, “नेपाल र भारतका सरकारबीच खरिदबिक्री हुने भएकोले प्रक्रिया मिलाउन समय लागेको हो र यसले रेल सञ्चालनमा केही समय लागेको हो ।” यसअघि चालू आर्थिक वर्षको कात्तिकमै जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल गुडाउने भनिए पनि ट्र्याक निर्माणलगायतका काम सम्पन्न नभएकोले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २०७४ फागुनभित्रै जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको थियो । “अब भने कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ,” चित्रकारले भने, “रेलले एक घण्टाको राउण्डमा सो दूरी पार गर्नेछ । एक पटकमा पाँच सय यात्रु चढ्न मिल्ने रेलले दैनिक सेवा दिने चित्रकारले बताए । पहिला एउटा रेल सञ्चालन गरेर आवश्यकताअनुसार दुवै रेल सञ्चालनमा ल्याउने चित्रकारले जानकारी दिए ।
पाँच वर्षअघिसम्म पनि जनकपुर–जयनगर रेल सञ्चालनमा थियो । त्यसपश्चात सो स्थानमा रेल सेवा सञ्चालन हुन सकेको थिएन । रेल विभागले रेल सञ्चालन केही समय भारतीय प्राविधिक टोलीद्वारा गरिने छ । चित्रकारले भने, “तालिम प्राप्त भारतीय प्राविधिक टोलीले नेपालको रेल सञ्चालन गर्ने छ । नेपालका प्राविधिक टोलीलाई तीनदेखि ६ महिनाको समयमा तालिम दिने र त्यसपछि नेपालको प्राविधिक टोलीबाट रेल सञ्चालन हुने छ ।”
जयनगरदेखि बर्दिबाससम्म ७९ किलोमिटर लम्बाइको रेल्वे तीन खण्डमा बन्दै छ । जसअन्तर्गत जयनगरदेखि कुर्थासम्मको पहिलोे ३४ किलोमिटरको काम सम्पन्न भइसकेको छ भने दोस्रो चरणमा कुर्थादेखि भंगाहा (बिजलपुरा)सम्म १८ किलोमिटर रेल्वे मार्ग निर्माण गरिने छ । अन्तिममा बिजलपुराबाट बर्दिवाससम्मको १७ किलोमिटर रेल्वे सम्पन्न गर्ने लक्ष्य छ । मुआब्जाको विवाद अहिले पनि कायमै रहेकाले विवाद समाधान गरेर मात्र काम अघि बढाउने रेल विभागको भनाइ छ ।
भारत सरकारको सहयोगमा रेलको इन्जिन किन्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै रेल हुने बताउँदै आएका छन् । त्यसमा नेपालको झण्डा फहराउने उनको भनाइ छ ।

रेलसेवा सम्झौता पुनरावलोकन
सरकारले नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन गर्ने भएको छ । मन्त्रिपरिषद्ले बैठकले पुनरावलोकनसम्बन्धी तेस्रो बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय वार्ताटोली गठन गरेको छ । सरकारले बुधबार बजेटमा काँकडभित्ताबाट विद्युतीय रेल बनाउन सुरु गर्ने, भारत र चीनको रेल दुई वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन गरिने जनाएको छ ।

 मनिका खतिवडा

 

प्रतिक्रिया दिनुहोस्