शीर्षक सडक बनाउने, काम तटबन्धन

मुगुको छायाँनाथ रारानगरपालिका–२ मा रहेको ससुरालीडाँडामा शिवमन्दिर जाने सडक निर्माण गर्नुपर्ने बजेट तटबन्धनमा खर्चिएको पाइएको छ । रकम सक्ने बहानामा ससुरालीडाँडामा पहिरो नजाने ठाउँमा पूर्वधार कार्यालयको बजेटले तटबन्धन निर्माण गरिएको हो ।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले सडक निर्माण गर्न आर्थिक वर्ष २०७८/०७९ मा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर सो रकमले पहिरो नजाने स्थानमा तटबन्धन गरिएको छ । उक्त तटबन्धन निर्माण गर्नका लागि तीनजनाको कोटेसन परेको थियो । तटबन्धन निर्माणको जिम्मा केटीएस निर्माण सेवाका प्रोपाइटर केशव चौलागार्इंले पाएका थिए ।
तटबन्धन निर्माण भएको स्थानमा कुनै पनि सांस्कृतिक संरचना, खेतीयोग्य जमिन, पहिरो जाने कुनै पनि सडक बाटो नभएको औचित्यहीन स्थानमा ग्याबिन जाली निर्माण गरी तटबन्धन गरिनु सरासर रकम पचाउने बाहेक अरु केही नभएको स्थानीय समाजसेवी ऐनबहादुर हमालले बताए ।
ससुरालीडाँडामा निर्माण भएको तटबन्धन सामुदायिक वनभित्र पर्दछ । कसरी आयोजना आयो कसरी भुक्तानी भयो भन्ने कुनै जानकारी नभएको तटबन्धन गरिएको स्थानमा ४६ वटा ग्याबिन जाली हालिएको छ भने हालिएका जालि पनि गुणस्तर नभएको स्थानीयको भनाइ छ । त्यो स्थानमा तटबन्धन आवश्यक पनि छैन । भाँचपातल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नवराज चौलागाईंले बताए ।
तटबन्धनका लागि १० लाख रकम विनियोजित गरिएको मध्ये सात लाख रकम भुक्तानी भइसकेको पूर्वाधार कार्यालयका सबइन्जिनियर मोहन सिंह कार्कीले बताए ।