विधेयक पास गर्न मुख्यमन्त्री शाहीको ध्यानाकर्षण «

विधेयक पास गर्न मुख्यमन्त्री शाहीको ध्यानाकर्षण

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सचिवालयमा विचाराधीन अवस्थामा रहेका अत्यावश्यक विधेयक पास गर्न ध्यानाकर्षण गराइएको छ । शनिबार जुम्लाका बुद्धिजीवी तथा नागरिक अगुवाले मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण गराएका हुन् ।
कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता भएका पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक तत्काल पास गर्न ध्यानाकर्षण गराइएको छ । कर्णाली प्रदेशको अस्तित्वसँंग जोडिएका विधेयक पास गर्न माग राख्दै मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
नेपालको भौगोलिक विभाजनमा साविकको कर्णाली अञ्चल हाल कर्णाली प्रदेश भौगोलिक विकटता एवं राज्यको विभेदपूर्ण व्यवहारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खाद्यान्न, दुर सञ्चारलगायत मानवीय आधारभूत आवश्यकतादेखि आधुनिक प्रविधिमा अहिलेसम्म राज्यका अन्य क्षेत्रको तुलनामा पछाडि नै छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “सदियौंदेखिको उत्पीडित तथा अन्यायमा परेको समग्र कर्णाली प्रदेश संघीय संरचनामा आफ्नो अस्तित्व पहिचान कायम गर्न सफल भई यो प्रदेशको नीति निर्माण दीर्घकालीन योजना तयार गरी कार्यान्वयन आफंैले गर्ने तहमा पुगे तापनि हामी संघमा नै परनिर्भरता रहेको र अत्यावश्यक विधेयकमाथि पनि राजनीति भइरहेको उल्लेख छ ।”
विगत एक वर्षदेखि सचिवालयमा दर्ता विधेयकलाई बन्धक बनाएर पारित नगर्ने राजनीति भइरहेको समेत जुम्लाबासीको आरोप छ । कर्णालीको भविष्य र जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका विधेयकमा साविकको कर्णाली अञ्चलकै दुईजना मुख्यमन्त्री हुँदा पनि विधेयकलाई छिटो छरितो अगाडि बढाई पास गर्न कन्जुस्याइँ गरेको गुनासो छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले भने हाल सिंजा विधेयक पर्वतीय विश्वविद्यालयको विधेयक पारित गर्नुको औचित्य अझै पुष्टि नभएको बताए । उनले आर्थिक व्ययभारका हिसाबले नधान्ने र समितिबाटै विधेयक अघि बढ्न नसकेकाले विधेयक पारित हुने स्थितिमा नरहेको जानकारी दिए ।
संसद् सचिवालयमा दर्ता भएका विधेयक पास गर्नेमा मेरो मात्रै भूमिका नरहेको उनको भनाइ छ । उनले भने, “समितिमा छलफल भएर संसद्मा आउनु पर्दछ, उनले थपे विभिन्न संरक्षण विधेयकको आवश्यकता छैन । कर्णालीभरिका ऐतिहासिक अवस्थालाई संरक्षण गर्नका लागि कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयकभित्र राख्नु पर्दछ ।”

प्रतिक्रिया दिनुहोस्