पोखरामा पनि अवैध संरचना हटाउने अभियान सुरु «

पोखरामा पनि अवैध संरचना हटाउने अभियान सुरु

काठमाडौंका मेयर बालेन शाहले सुरु गरेको अवैध संरचना हटाउने अभियानको पोखरामा पनि प्रभाव परेको छ । पोखरामा मापदण्डविपरीत निर्माण भएका संरचना हटाउने अभियान पोखरा महानगरपालिकाले सुरु गरेको छ ।
पोखरा महानगरपालिकाले वडा नं.९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वमा रहेको आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालयलगायतका सटरमा महानगरले बिहीबार डोजर चलाएको मेयर धनराज आचार्यले बताए । भवन तथा सटरमा व्यवसाय सञ्चालन गरिरहेका संस्था तथा व्यवसायीलाई खाली गर्नका लागि ३५ दिने सूचना दिएर महानगरपालिकाले ३६औं दिनमा डोजर चलाएको उनको भनाइ छ ।
वर्षौंदेखि महानगरपालिकाको सटरमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई एक वर्षको भाडासमेत छुट दिएर बाँकी बुझाउन पटकपटक ताकेता गरे पनि अटेर गरिएको उनले बताए । सटर हटाए पनि उठ्न बाँकी रकम नियमानुसार असुल उपर गरिने प्रमुख आचार्यले जनाए । ती सटरबाट एक करोड ८७ लाख बढी भाडा असुलउपर गर्न बाँकी छ । महानगरपालिकाले ताकेता गरेपछि केही व्यवसायीले भाडा बुझाएका छन् ।
अधिकांश व्यवसायीले सटर छोडिसकेका थिए भने आर्ट ग्यालरी र पुस्तकालयको व्यवस्थापन महानगरपालिका आफैले गर्ने मेयर आचार्यले बताए । उनले भने, “पोखरा आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वीचोकमा बन्ने पोखरा भवनमा व्यवस्थापन गरिनेछ,” प्रमुख आचार्यले उल्लेख गरे, “त्यसको भुइँतलामा सूचना केन्द्र, बीचको तलामा पुस्तकालय, त्योभन्दा माथि आर्ट ग्यालरी हुन्छ र त्यो भन्दामाथि घण्टाघर हुन्छ ।” यस हिसाबले त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने योजना बनाएको मेयर आचार्यले जनाए । अरू सबै संरचना त्यहाँबाट हट्ने प्रमुख आचार्यको भनाइ छ ।
उक्त स्थानमा पार्किङ र बगैँचासहितको खुला स्थान निर्माण गरिने उनले बताए । हरेक वडामा एउटा एउटा खुला ठाउँ निर्माण गर्नुपर्छ बताएका मेयर आचार्यले आफ्नै स्वामित्वमा रहेको भवनबाट उक्त अभियान सुरु गरिएको जनाए । प्रमुख आचार्यले भने, “नदीको किनारमा संरचना बनाउन नदिने तर हामी आफैले बनाएका संरचना एकदमै खतरामा छ, यो जीर्ण पनि छ, सानो भूकम्प आउने बित्तिकै पनि ठूलो दुर्घटना हुनेवाला छ, त्यस कारण दुर्घटना पनि नहोस् र खुला ठाउँ पनि होस् भनेर अहिले हामीले काम सुरु गरेका हौं ।”
पोखरा महानगरपालिकाभित्र गैरकानुनी रूपमा बनेका सबै संरचना हटाउने अभियानको सुरुवात वडा नं. ९ बाट गरिएको वडाध्यक्ष दीपेन्द्र मरासिनीले बताए । निर्वाचनका बेला जनतासामु आफूले गरेको वचनसमेत पूरा गर्न उक्त अभियान सुरु गरेको उनको भनाइ छ । यो अभियानको सुरुवात आफैबाट भएकाले अब यो अभियान पोखरा भरी लागू गर्ने उनले बताए । महेन्द्रपुल चोकमा रहेको क्षेत्रीय हुलाकको कम्पाउन्डसमेत भत्काइने उनले जनाए । २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र आर्ट ग्यालरी पुरानो र जीर्ण अवस्थामा थियो ।

प्रतिक्रिया दिनुहोस्