Logo

रविन्द्र मिश्रलाई प्रकाशमानको व्यंग्य: ‘पार्टी खोल्नु नाङ्लोमा पसल राख्नुजस्तो होइन’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गरेका छन् ।
शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्नु नहुने बताए । नेता सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रप्रति पार्टी टिकाएर देखाउन चुनौती दिए । उनले देश विकासका लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरूसँग आग्रह गरे ।
वि.सं. २०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८ सय १९ मतान्तरले मात्रै सिंह विजयी बनेका थिए । सिंहले आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । उनले देश विकास गर्न पुराना काँग्रेस र कम्युनिष्ट पार्टीहरूलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरूले कुनै काम गर्न नसक्ने जिकिर गरे । उनले परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ ? भन्दै प्रश्नसमेत गरे ।
उनले भने, ‘यहाँ पुराना दलहरूले केही गर्न सकेनन् भने । अरु कसले गर्न सक्ला त ? गर्न सकेन भनेर कराउने अधिकार कसले दियो ? त्यही पुराना दल कांग्रेसले नै नेतृत्व गरेर जनआन्दोलनबाट मौका पाएको होइन । स्थापना गरेको दलललाई एक वर्ष टिकाउन नसक्नेहरूले परिवर्तनको नारा दिँदैमा परिवर्तन हुन्छ ? नारा दिँदैमा परिवर्तन हुने भए त सबैले दिन्थे नि । नाराले केही काम हुँदैन । पुराना दललाई त जनतालाई चित्त बुझाउन धौधौ भइरहेको छ भने भर्खरका दलले गर्छौं भनेर गर्न सकिन्छ र ? परिवर्तन गर्ने नारा बोकेर आयो एउटा दल । परिवर्तन के गर्छ भनेको आफूले खोलेको दललाई सम्हाल्न सक्नुपर्छ नि परिवर्तन गर्ने दलले । सम्हाल्न सकेको छ ? यहाँ आएको दल, व्यक्ति कहाँ पुग्यो ? के गरिरहेको छ ? राजनीति सजिलो छ ? पार्टी खोल्ने भनेको चिज नाङ्लोमा पसल खोलेको जस्तो होइन । काँग्रेस र कम्युनिष्ट जस्तो पुरानो पार्टीलाई त गाह्रो छ भने नयाँ दलले कसरी गर्न सक्छन् । आफ्नो नाममा दर्ता भएको दललाई त दुई वर्ष टिकाउन सक्दैनन् भने यिनीहरूले काम गरेर देखाउन सक्ला ? राम्रो मान्छेलाई मौका दिनुपर्छ ।’
नेता सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताए । उनले जनताको बहुमत पाउँदासमेत कम्युनिष्ट पार्टीहरूले संघीयताका कानुन नबनाइदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप लगाए । नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर कांग्रेसले देश विकास गर्ने बताए ।
उनले भने, ‘स्थानीय सरकारलाई दिनुपर्ने, प्रादेशिक सरकारलाई दिनुपर्ने अधिकारहरू कानूनहरू नबनाइदिएको कारणले प्रश्न चिन्ह खडा भएको छ ? संघीयता नेपालको लागि फलिफाप हो र भन्छ । कारण बहुमत दिँदा पनि कम्युनिष्टहरूले काम गर्न नसक्दा यस्तो अवस्था आएको हो । कानूनहरू नबनाइदिँदा यो अवस्था आयो । ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याएका छौँ अहिले गठबन्धन बनाएर । हामी देशको विकास गर्न अब तयार छौँ ।’
नेता सिंहले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताए । शिक्षा दिनेसँगै सीप दिनेकामको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभई व्यवस्थित स्वास्थ्य संस्थाको विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्ने काम हुनुपर्ने र रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको छ । शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको छ । शिक्षा दिनेसँगै सीप दिनेकाम विकास गर्न आवश्यक छ । हरेक वडा कार्यालयमा बोर्डमात्रै नभई व्यवस्थित स्वास्थ्य संस्था राख्नुपर्ने हुन्छ । देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्ने काम गर्नुपर्छ । रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छ ।’
नेता सिंहले आफू पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको नभइ सेवाका लागि राजनीति गरेको बताए । भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्