कांग्रेसलाई रूपान्तरण गरी नविन बनाउन आवश्यक छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई रूपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताएका हुन् ।
शुक्रबार सुन्दरीजलमा नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औं जन्मजयन्तीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तर्तामा नविनता थपेर अघि बढाउन आवश्यक रहेको बताए ।
उनले विगतका कमी कमजोरीलाई आत्मलोचना गरी रुपान्तरित कांग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको बताए । उनले नेपाली कांग्रेसलाई एकातिर बदलिएको बलियो कांग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली कांग्रेसलाई बलियो दलको रूपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए । उनले ५ वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताए । उनले आगामी निर्वाचनको घोषणापत्रमा सबै पक्षलाई समेटर घोषणापत्र बनाउने बताए ।
उनले भने, ‘हामीले कार्य गरिरहेको दल अब परिवर्तित गरेर नविन बन्नुपर्छ । यसको रूपान्तरण गर्न जरुरी छ । रुपान्तरण साँझ र बिहान जस्तो हुँदैन । समय लाग्छ । ७० वर्षदेखि एउटा धारामा बगेको दल छ । अहिले नेपाली काँग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी पाएको बेलामा निरन्तरतामा नविनता ल्याउनुपर्छ । ७० वर्षको निरन्तर यात्रालाई अघि बढाउँदै नविनता पनि अघि बढाउनु पर्छ । वर्षमा भएका कमजोरीलाई हामीले आत्मलोचना गरेर जानुपर्छ । एक वर्षमा हुन खोजेका प्रयत्नहरूमा सार्थकता किन हुन सकेन भनेर खोज्नुपर्छ । काँग्रेसलाई रुपान्तरित गरेर जाने भन्ने यो वर्षमा भएका कामहरूलाई पनि समीक्षा गर्नुपर्छ । नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व छ, अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर सँगैका सहयात्रीलाई साथमा राखेर केवल निर्वाचनपछिको ५ वर्षको सरकारको कुरा मात्रै होइन, १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्छ । निर्वाचनको घोषणापत्र लेख्दा सबै पक्षलाई समेटेर लेख्नुपर्छ ।’
महामन्त्री शर्माले नेपाली कांग्रेस उज्यालो अनुहार बनाएर मंसिर ४ गते नेपाली कांग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा स्थापित गर्न अग्रसर हुने बताए । उनले नेपाली कांग्रेस पार्टीले २१ औं शताब्दीको विषयलाई सम्बोधन गर्न सक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको सुुरुवात घोषणा गरे ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीको सदस्य हुनुको नाताले उज्यालो अनुहार बनाएर, नागरिक पंक्तिमा हामीले हाम्रा कमजोरीहरू जे भए पनि त्यसलाई आत्मालोचना गरेर मंसिर ४ गते नेपाली काँग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा उभ्याउन हामी लागि पर्नेछौँ । देशव्यापी रुपमा नेपाली काँग्रेस पार्टी पंक्तिले कमजोरी गरेन भन्दैन । भएका कमजोरीलाई जनताको बीचमा आत्मालोचना गरेर, कमीकमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरी, मुलुकको सही नेतृत्व गरेर मुलुकलाई गति दिन्छौँ । नेपाली कांग्रेस पार्टीले २१ औं शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको शुरुवात गर्दैछ । आज मानिसहरूको बीचमा आशंका छ । कतै नेपाल श्रीलंका हुने त होइन भन्ने आशंका छ । तर यो भ्रमपूर्ण प्रचार हो । अहिले नेपालको अवस्था त्यो छैन । उनीहरूले २५ वर्ष लामो हिंसा व्यहोरे, हामीले १० वर्षको हिंसा व्यहोर्यौं । उनीहरूले हिंसालाई बन्दुकले समाधान गरे, हामीले वार्ताबाट समाधान गर्यौं । उनीहरूले ऋणमाति ऋण लिए, हामीले ऋण भन्दा अनुदानमा जोड दियौँ । तर विगतमा बनाएका ठूला प्राजेक्ट शुरु गर्दैगर्दा कतै हामी ऋणमा त डुब्दै छैनौँ ? ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? ऋण लिने कुरामा बुद्धिमता नपुर्याउँदा कमजोरी हुने त होइन ? घोषणापत्र लेख्दा यी कुरामा पनि ध्यान दिनेछौँ ।’
महामन्त्री शर्माले नेपाल अहिले श्रीलंकाको बाटोमा नरहेको उल्लेख गर्दै श्रीलंकाको बाटोमा छ भन्नु भ्रम बाहेक अरू नभएको जिकिर गरे । उनले नेपाल देशले सामाजिक न्याय शैलीको उदार अर्थ व्यवस्थाको बाटोबाट कसरी जनताको अनुहारमा खुसी ल्याउन सकिन्छ भन्ने कुरामा कांग्रेस अघि बढ्ने बताए । महामन्त्री शर्माले ठूलो योजना अघि बढाउँदै गर्दा ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? भन्ने प्रश्न उठ्नसक्ने भन्दै बुद्धिमतापूवएक काम गर्नुपर्ने बेला भएको पनि बताए ।