Logo

एउटै बजारको सटरमा दुई थरी भाडा

बाराको प्रमुख बजार सिमरा र जितपुरमा सञ्चालित व्यावसायीक सटरको दुई थरी भाडा कायम रहे पछि एउटै वस्तुको फरक मूल्य हुँदा बजार अनियन्त्रित बनेको छ ।
जितपुर सिमरा उपमहानगरको दुवै बजारमा सञ्चालित दुई सय भन्दा बढी सटरको भाडा दर अत्यन्तै न्युन र व्यावसायीक प्रयोजनका निजी सटरको भाडा उच्च रहेपछि बजारमा एउटै वस्तुको दुई फरक मूल्यमा बिmत्री हुँदा बजार अनियन्त्रित बनेको छ ।
जितपुर, सिमराको मुख्य बजारमा उपमहानगरको १ सय ९३ सटर सञ्चालनमा रहेका छन् । उपहानगरले हरेक महिना प्रतिसटर १९ सय ५० देखि ३ हजार ५५ रुपैयाँ भाडा तोकेको छ । सोही बजारमै रहेका निजी व्यावसायीक सटरको भाडा प्रतिमहिना २० देखि २५ हजार रुपैयाँसम्म चलनचल्तीमा रहेको छ ।
फरक दरका सटरमा सञ्चालित निजी व्यवसायीले फरक दामकै कारण आफूहरुले गरेको लगानी जोखिममा पर्दै गएको बताउन थालेका छन् । उपमहानगरको सटर प्रयोगकर्तासँग जनप्रतिनिधि, दलका नेता, कार्यकर्ताले सहयोग लिने गरेकै कारण विगत तीन वर्षदेखि उपमहानगरले भाडा उठाउन नसक्दा २ करोड १९ लाख बक्यौता रहेको उपमहानगरका एक अधिकृतले बताए ।
पछिल्लो समय सहरको रुपमा स्थापित बनेको सिमरा र वाणिज्यको केन्द्र बनेको जितपुर उपमहानगरका प्रमुख बजार हो । बजारमा ठूला कम्पनीका उत्पादनको दरमा एकरुपता भएपनि अन्य सबै प्रकारका खुद्रा होलसेल दरमा फरक फरक रेट हुने गरेको छ ।
दलका कार्यकर्ता, जनप्रतिनिधिका आफन्त, हुलहुज्जत गर्ने व्यक्तिको समुहले उपमहानगरको सामान्य भाडादरका सटरहरु कब्जामा राखेर प्रयोग गरेकै कारण उपमहानगरले मासिक भाडा उठाउन नसकेको हो ।
एउटै बजारमा एकै खाले वस्तुको फरक फरक मूल्य भएपछि व्यावसायीक भवनमा सञ्चालित सटरहरुले कानुनी समस्यामा पर्ने अवस्था बन्दै गएको प्रति केही व्यापारीहरु त्रसित बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्