Logo

विशेष कार्यसूची लिएर नेपाल आएको होइन :स्वराज

भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा बिहीबार अपरान्ह विशेष विमानबाट काठमाडौं आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले आपसी हितका विविध विषयमा प्रमुख राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसँग भेटघाट गर्न मात्रै आएको बताइन् । अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसरी आउने जाने गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताउँदै भनिन्, “नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई मेरो भ्रमणले अझै मजबुत बनाउने छ ।”

प्रतिक्रिया दिनुहोस्