नेशनल लाइफ इन्स्योरेन्सको कार्यशाला सम्पन्न

‘एक्सेल एण्ड इलेभेट’ २०७९/०८०’ नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट वर्कसप’ पोखरामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने बताइन् । सम्मेलनमा विभागीय प्रमुखसहित देशभरबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जनाभन्दा बढी सहभागी थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बिमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गएको भन्दै दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गरी बिमा बजारमा कम्पनीलाई अग्र स्थानमा पुर्याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै यस सम्बन्धमा अधिकतम प्रयास गर्न उत्प्रेरणा प्रदान गरे ।
कम्पनीका विभागीय प्रमुखहरुले कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरूको पहिचान गरी सहजिकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्तालाई छिटो छरितो र विश्वासिलो सेवाप्रदान गर्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।