अलपत्र श्रमिकको उद्वार र राहतका लागि २ अर्ब खर्च «

अलपत्र श्रमिकको उद्वार र राहतका लागि २ अर्ब खर्च

सरकारले वैदेशिक रोजगारीका क्रममा अलपत्र, मृत्यु र बिरामी भएका श्रमिकको सहयोगका लागि २ अर्ब खर्च गरेको छ ।
वैदेशिक रोजगारीका क्रम फौजदारी अभियोग लागेका, सुरक्षित गृह निर्माण, अलपत्र शव स्वदेश ल्याउन, उपचार र कोभिड संक्रमणका बेला उद्धारका लागि मात्र २ अर्ब १ लाख रुपैयाँ खर्च गरेको हो । वैदेशिक रोजगार बोर्डका निर्देशक टिकामणि नेउपानेले सो अवधिमा वैदेशिक रोजगारीको क्रममा फौजदारी अभियोग लागेका ३ जना नेपाली कामदारको कानुनी प्रतिरक्षाका लागि मलेसियास्थित नेपाली दूतावासको सिफारिसका आधारमा ८ लाख ९० हजार ६३० रुपैयाँँ र युएईमा २ जना श्रमिकको कानुनी प्रतिरक्षाका लागि ९ लाख ३० हजार परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित दूतावासमा पठाइएको जानकारी दिए ।
यसैगरी बोर्डले ओमानस्थित नेपाली दूतावासको अनुरोधका आधारमा सुरक्षित गृहको सञ्चालन प्रयोजनका लागि ५ लाख रकम पेश्की उपलब्ध गराइएको जनाएको छ । बोर्डले विभिन्न मुलुकहरुमा विविध कारणले मृत्यु भएर अलपत्र परेका ३२ जना नेपाली कामदारको शव नेपाल ल्याउन १ करोड ६ लाख खर्च गरेको थियो ।
गत वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा गम्भीर प्रकृतिको बिरामी भएर वा कोभिड–१९ र अन्य कारण अलपत्र परेका ७८३ जना कामदारको उद्धार गरिएको छ । यसरी उद्दार गर्ने क्रममा हवाइ टिकट, क्वारेन्टाइन, स्थानीय यातायात एवं पीसीआरलगायतका कार्य प्रयोजनको लागि २० लाख रुपैयाँँ खर्च भएको बोर्डले जनाएको छ ।
मलेसिया, साउदी अरब, कतार, युएई जस्ता बढी संख्यामा नेपाली कामदार कार्यरत मुलुकमा समस्यामा परेका श्रमिकको सहयोगका लागि सम्बन्धित देशका नेपाली दूतावासमा जनसम्पर्क सहायक कर्मचारी व्यवस्थापन प्रयोजनका लागि यो अवधिमा ७० लाख रुपैयाँँ पेश्की उपलब्ध गराइएको थियो ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सूचना, परामर्शलगायत अन्य आवश्यक सहायता प्रदान गर्ने उद्देश्यले काठमाडौको अन्तर्राष्ट्रिय विमानस्थलमा सूचना तथा सहायता कक्ष सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिएको बोर्डले जनाएको छ । गत आवमा भैरहवास्थित नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा समेत यो सेवा विस्तार गरिएको छ ।
सोही प्रकृतिको सेवा राहदानी तथा कन्सुलर सेवा विभागबाट समेत प्रवाह गरिँदै आएको छ । यस कार्यका लागि विश्वविद्यालयमा स्नात्तक तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप अध्ययन सहयोग कार्यक्रमअन्तर्गत ३ महिला र ३ पुरुष गरी जम्मा ६ जना विद्यार्थी छनौट गरी परिचालन गरिएको छ ।
मलेसिया सरकारको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रममा आवद्ध भएका नेपाली श्रमिकमध्ये कार्यस्थल दुर्घटना र कार्य समयभित्र मृत्यु भएका १७ जना श्रमिक तथा तिनका परिवारलाई मलेसियाको सामाजिक सुरक्षा संगठन (सोक्सो) बाट नियमानुसारको क्षतिपूर्ति/आर्थिक सहायता रकम उपलब्ध गराउन सहजिकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्