दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र «

दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र

गुल्मी र पर्वत दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र परेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल विगत ६ वर्षदेखि अलपत्र परेको हो ।
तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंबीच ३१ भदौ २०७३ गते सम्झौता भई निर्माण सुरु भए पनि पुल अलपत्र अवस्थामा पुगेको स्थानीयले बताए । कुल १४ करोड ६७ लाख ७६ हजार ५ सय ९ रुपैयाँमा पक्की पुल बनाउने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार पक्की पुलको निर्माण ३० चैत २०७६ मा सम्पन्न हुनुपर्ने हो । तर, अहिले सम्झौता भएको तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी खारेज भएको छ । अहिले उक्त पुलको जिम्मा मदन भण्डारी राजमार्ग अयोजना योजना कार्यालय तम्घास गुल्मीले पाएको छ ।
निर्माण कम्पनीका सम्पर्क व्यक्ति सुरेन्द्र लम्सालले भूगोलका कारण समयमै काम सम्पन्न गर्न नसकेको भनेर उम्किएका छन् । “भूगोलका कारण निर्माण सामग्री निर्माण स्थलसम्म लैजान पनि समस्या भइरहेको छ ।” निर्माण कम्पनीका लम्सालले भने, “कालिगण्डकी नदीको बहाब बढ्ने भएकाले वार्षिक रूपमा तीन महिनामात्र काम गर्नुपर्ने अवस्था छ ।” पछिल्लो तोकिएको समय अवधिसम्म काम सक्ने गरी आपूmहरू लागिरहेको उनको दाबी छ ।
मदन भण्डारी राजमार्ग आयोजना योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी वीरेन्दप्रकाश तेलीले पनि कालिगण्डकी पुलको निर्माण कार्यमा ढिलाइ भएको स्वीकार गरे । उनले कालिगण्डकी नदीमा पानीको बहाब बढी हुने र एक वर्षमा करिब तीन महिनामात्र काम गर्न सकिने भएकाले समयमै काम गर्न निर्माण व्यवसायीले नसकेको बताए । बीचमा कोभिडका कारणले समेत समस्या भएकाले निर्माण व्यवसायीलाई पनि दबाब दिन नसिकएको सूचना अधिकारी तेलीको भनाइ छ ।
सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनअनुसार २०८० असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले उक्त अवधिसम्म कार्य सम्पन्न गर्नका लागि कार्यालयको तर्फबाट हरदम प्रयास गर्ने मदन भण्डारी राजमार्ग आयोजना योजना कार्यालय तम्घास गुल्मीले जनाएको छ । पक्की पुल समयमा निर्माण नहुँदा पूर्तिघाट र रानीपानीका स्थानीयलाई आवतजावतमा सास्ती भएको छ । पक्की पुल निर्माणले सवारी आवतजावत हुने भएकोले धेरै राहत पुग्ने स्थानीयको अपेक्षा अझै पूरा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्