अस्पताल भवन अलपत्र पार्ने ठेकेदारको विरोध «

अस्पताल भवन अलपत्र पार्ने ठेकेदारको विरोध

५० बेड क्षमतामा स्तरोन्नतिसहित निर्माणधीन बेनी अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी र सरोकारवालालाई दबाब दिन निर्माण व्यवसायीको खोजी गर्न दबाबमूलक विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ म्याग्दीले अस्पतालको भवन अलपत्र पार्ने निर्माण व्यवसायी हराएको सूचनासहितको तस्बिरलाई सार्वजनिक स्थानमा टाँसेर विरोध पदर्शन गरेका हुन् ।
निर्माणाधीन अस्पताल भवन परिसरमा अनेरास्ववियु र युवा संघका नेता तथा कार्यकर्ताले भवनको ठेक्का लिएका महादेव खिम्ती गल्वा रफिना जेभीका सञ्चालक समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवीसिंह श्रेष्ठ हराएको भन्दै तस्बिरसहितको सूचना टाँसेर विरोध जनाएका छन् ।
लाइट बालेर खोजी गर्दै निर्माण व्यवसायीको तस्बिर टाँस गरेपछि आयोजित कोण सभामा बोल्दै अनेरास्ववियुका गण्डकी प्रदेश समितिका अध्यक्ष प्रकाश पौडेलले राजनीतिक दल र सत्ताको ओत लागेर अस्पताल भवनलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई तत्काल निर्माण कार्यलाई अघि बढाउन आग्रह गरे । उनले पटकपटक थप भएको समयमा समेत निर्माण व्यवसायीले भवन निर्माणमा तदारुकता नदेखाएको र निर्माण कम्पनीलाई काम गरेभन्दा बढी भुक्तानी दिएको सार्वजनिक भएको भन्दै यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताए ।
अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष पौडेल, केन्द्रीय सचिवालय सदस्य सुवास विक, युवा संघका जिल्ला अध्यक्ष शिशिर शाहीलगायतको नेतृत्वमा गएका युवा तथा विद्यार्थी नेताले भित्ता र बिजुलीको पोलमा निर्माण व्यवसायी श्रेष्ठको तस्बिर र सम्पर्क नम्बरसमेत उल्लेख गरी निर्माण व्यवसायी हराएको सूचना टाँस गरेका छन् । तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँंग २१ पुस २०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । २० मंसिर २०७६ भित्र निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ ।
निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको करिब तीन वर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ५० प्रतिशतमात्रै सकिएको छ । निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण बेनी अस्पतालको निर्माणाधीन भवन ढिलासुस्तीको नमुना बनेको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना कार्यान्वयन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङलाई अस्पताल भवन निर्माणमा ढिलासुस्ती भएको भन्दै निर्माण कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गराउन लिखित पत्राचार नै गरिसकेको छ भने कार्यालयले समेत निरन्तर ताकेता गर्दा समेत निर्माण कम्पनीले निर्माण कार्यलाई गति नदिएको जनाएको छ । बेनी अस्पतालले अहिले भवन अभावमा अस्थायी संरचनाबाट स्वास्थ्योपचार सेवा दिँदै आएको छ । समयमै भवन नबन्दा स्वास्थ्यसम्बन्धी सबै सेवा गुणस्तरीय रूपमा सेवाग्राहीलाई दिन नसकेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्