Logo

नेपाली श्रम बजारमा दक्ष जनशक्ति विदेशकै भरमा

नेपाली श्रम बजारमा विदेशी जनशक्तिमा भर पर्नु परेको पोखरामा आयोजित एक कार्यशाला गोष्ठीमा वक्ताहरुले बताएका छन् ।
इस्टाब्लिसिङ एन इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट (इएलएमएस) प्रोजेक्टको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले दक्ष जनशक्तिको अभाव हुँदा नेपाली श्रम बजारमा विदेशी जनशक्तिमा भर पर्नु परेको बताएका हुन् ।
नेपाली श्रम बजारमा सीप बेमेल देखिएको, दक्ष कामदार वैदेशिक रोजगारीमा जान लालायित हुने गरेको र श्रमको सम्मान गर्ने संस्कृतिको विकास नहुँदा समस्या विद्यमान रहेको विषयमा सहभागीहरुको भनाइ थियो ।
होटल संघ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल उद्योग परिसंघको साझेदारीमा इएलएमएसले सन् २०२० को नोभेम्बर ११ देखि नेपालका सातै प्रदेशमा काम गर्दै आएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा ब्रिटिस काउन्सिल– दक्षता: सिटीभीइटी प्राक्टिकल पार्टनरसिप प्रोजेक्टको प्राविधिक सहयोगमा प्रोजेक्ट सञ्चालित छ । तालिमको क्षेत्रमा निजी क्षेत्रको अर्थपूर्ण भूमिकालाई प्रबद्र्धन गर्दै विशेषगरी उद्योग प्रतिष्ठानहरुको आवश्यकताअनुसारको दक्ष जनशक्ति मागबारे तथ्यांक तथा सूचनाको संकलन गरी सीप सम्बन्धी उपयुक्त नीति तथा कार्यक्रमको तर्जुमा गर्न सरकार एवं सम्बन्धित सरोकारवालाहरुलाई जानकारी सम्प्रेषण गर्ने उद्देश्य प्रोजेक्टले लिएको छ ।
प्रोजेक्ट अन्तर्गत प्राथमिकताका आधारमा तीन वटा आर्थिक क्षेत्रहरु– निर्माण, कृषि र पर्यटन क्षेत्रहरु समेटिएका थिए । उद्योग प्रतिष्ठानहरुमा विभिन्न पेशाहरुमा के–कस्ता सीपयुक्त जनशक्तिको आबश्यकता छ सो अनुसार उच्च माग रहेका १०/१० वटा गरी ३० वटा पेशाहरु सम्बन्धि उद्योग प्रतिष्ठान एवं संघहरुको संलग्नतामा पहिचान गरी पेशागत मापदण्डको विकास गरिएको पनि जनाइएको छ ।
यसैगरी श्रमबजार सूचना वेब पोर्टलको विकास र श्रमबजार सूचना सर्वेक्षण कार्य पनि सम्पन्न भएका छन् । सर्वेक्षणअन्तर्गत सातै प्रदेशका विभिन्न २७ जिल्लाका निर्माण, कृषि एवं पर्यटन क्षेत्रका दुई हजार नौ सय ७३ उद्योग प्रतिष्ठानबाट दक्ष जनशक्तिको माग सम्बन्धि सूचना तथा जानकारी संकलन गरिएको होटल संघ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र परिचालित नभएसम्म सरकार मात्रै एक्लै अघि बढेर देशमा समृद्धि नआउने बताए । सरकारको काम नियम, कानून र वातावरण बनाउने तथा सहजीकरण गर्ने भएको भन्दै उनले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको बताए ।
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले नेपालीमा श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास हुन नसकेको बताउँदै निजी क्षेत्रले दिने तलवमान कत्तिको उपयुक्त हो भन्ने विषय चर्चायोग्य भएको बताए ।
होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले दक्ष जनशक्ति उत्पादनका लागि तालिम गरेर पैसा पनि खर्च भएको तर आवश्यक दक्ष कामदार बजारमा उपलब्ध नभएको बताइन् । दक्ष जनशक्तिका लागि सार्वजनिक निजी साझेदारी प्रणालीमा अघि बढ्नुपर्ने सुझाव उनले दिइन् ।
होटल संघ गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कोभिडले असर गरेको नेपाली पर्यटन र अर्थतन्त्र उकास्न दुई–तीन वर्षका लागि मजदूरका लागि व्यवस्था गरिएको सेवाशुल्क हटाउँदै घण्टा प्रणालीमा रोजगारी अघि बढाउन गर्न सके उत्पादन र सेवाको लागत घट्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, एफएनसीसीआईका रविनकुमार श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघका सचिव महाप्रसाद सुवेदी, हान एसडब्लूजी सदस्य युवराज श्रेष्ठ, नेपाल निर्माण व्यवसायी महासंघ एसडब्लुजी सदस्य डम्बरप्रसाद रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्