कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मा

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा विश्वप्रकाश शर्मा मनोनयन गरेको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा बुधबार पार्टीका महामन्त्री शर्मालाई मनोनयन गरेका पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले यसअघि स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा पार्टीका अर्का महामन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिएको थियो ।
सय सिट लिन पहल गर्नुपर्छ : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताएका हुन् ।
नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँट भइसकेपछि प्रदेशसभाको सिट बाँडफाँटमा कुराकानी हुने बताए ।