ईपीएसमार्फत छनोट हुने युवाको संख्या दोब्बर हुने «

ईपीएसमार्फत छनोट हुने युवाको संख्या दोब्बर हुने

कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लैजाने नेपाली युवाको संख्या करिब दोब्बर बनाएको छ । ईपीएसबाट कोरिया जाने नेपाली युवाको छनोट संख्या ८ हजारबाट बढाएर १४ हजार ९१३ पुर्‍याएको हो ।
कृषि क्षेत्रका सहित छनोट संख्या १७ हजार ६५४ पुगेको छ । यसअघि एचआरडी कोरियाले पहिलो र दोस्रो चरण गरेर ६ हजार ९१३ नेपाली युवामात्र लैजाने गरी भाषा परीक्षा गर्न वैदेशिक रोजगार विभाग ईपीएस शाखालाई अनुरोध गरेको थियो । शाखाका निर्देशक पुष्पराज कटुवालले उत्पादनमूलक क्षेत्रतर्पmको पहिलो र दोस्रो चरणको कोरियन भाषा परीक्षा (ईपीएस टपिक, यूबिटी २०२२) बाट उत्तिर्ण हुने अनुमानित संख्या ६ हजार ९१३ हुने उल्लेख भएकोमा दुवै चरणको परीक्षाबाट उत्तिर्ण हुने संख्या थप ८ हजारको रोष्टर तयार गर्न अनुरोध भएको बताए । कोरियामा विदेशी श्रमिकको अभाव, नेपालले भाषा परीक्षामा गरेको सुधार र पठाउने प्रक्रिया छिटोछरितो भएका कारण कोरियाले नेपालबाट लैजाने कोटा बढाएको शाखाले जनाएको छ ।
कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको कोरियाको रोजगारी गत वर्ष कात्तिकबाट पुन: सुरु भएर हालसम्म ८ हजार श्रमिक कोरिया प्रवेश गरेका छन् । अघिल्ला वर्षमा वार्षिक ७ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने गरेकोमा कोरोना संक्रमणपछि कात्तिकयता १० महिनामा नै ८ हजार युवा कोरिया गइसकेका छन् । यसैगरी कोरियासँगको पछिल्लो श्रम समझदारीले कोरियाबाट ५ वर्ष काम गरेर फर्केका कमिटेड वर्करको पुन: कोरिया फर्कन पाउने ३ महिनाको समयसीमालाई घटाएर १ महिना भित्रै फर्कन सक्ने बनाएको शाखाले जनाएको छ ।
कोरिया प्रवेश गर्ने संख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ हजार २७ रहेको थियो । वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन सर्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया पुन: लयमा फर्केको जनाएको छ । विभागले ईपीएस अन्तर्गत जाने श्रमिकका लागि थप कोटा निर्धारण गरेको जनाउँदै आगामी वर्ष अझ धेरै युवाले कोरियामा रोजगारी पाउने जनाएको छ । कोरोना संक्रमणअघिका १४ वर्षमा कोरियाले वार्षिक औषत ५ हजार श्रमिक नेपालबाट लैजाँदै आएको देखिन्छ । नेपालबाट सन् २०१७ मा ७ हजार ८००, २०१८ मा ८ हजार ५११ र २०१९ मा ७ हजार १३६ श्रमिक कोरिया गएको विभागले जनाएको छ । त्यसपछि कोरोना संक्रमणका कारण उडान बन्द हँुदा २ वर्ष न्यून संख्यामा मात्र श्रमिक कोरिया प्रवेश गरेका थिए । एक महिनाअघिको तथ्यांकअनुसार कोरियामा उत्पादनमूलक क्षेत्रमा १९ हजार ६५४, कृषि तथा पशुपालन क्षेत्रमा ८ हजार ४२४ र अन्य क्षेत्रमा ५१ नेपाली कार्यरत रहेको देखिन्छ ।
दक्षिण कोरियाले यो वर्ष ईपीएस अन्तर्गत विगत ५ वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको छ । विगतका वर्षको तुलनामा कोरोनाका कारण कोरिया जाने क्रम रोकिएको थियो । यसका कारण कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको थियो । हाल कोरिया जाने योग्यसूची (रोष्टर) मा धेरै नेपाली नभएका कारण भाषा परीक्षा गर्न लागिएको हो । सन् २००८ देखि वर्षेनी सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा पछिल्लो २ वर्ष कोरोना संक्रमणका कारण स्थगन गरिएको थियो ।

पीसीआर अनिवार्य छैन
दक्षिण कोरियाले कोरिया प्रवेश गर्नुपूर्व ४८ घण्टाअघिको पीसीआर परीक्षण रिपोर्ट पेश गर्नुपर्ने बाध्यात्मक नियम हटाउने भएको छ । कोरियामा रहेका सञ्चारकर्मी गुरुदत्त न्यौपानेका अनुसार कोभिड संक्रमण कम भएको जनाउँदै कोरियाले यही सेप्टेम्बर ३ तारिखदेखि कोरिया प्रवेशमा ४८ घण्टाअघिको पीसीआर परीक्षण रिपोर्ट पेश गर्नुपर्ने बाध्यात्मक नियम हटाउने भएको हो ।
कोरियाको संक्रामक रोग सल्लाहकार समितिले सरकारलाई कोरिया प्रवेश गर्ने यात्रुहरूका लागि अनिवार्य प्रि–ट्राभल (पीसीआर) परीक्षण हटाउन सिफारिस गरेपछि पीसीआर रिपोर्टको अनिवार्य व्यवस्था हटेको हो । आगामी शनिबार मध्यरातदेखि कोरियन नागरिक तथा विदेशी यात्रुहरुले कोरिया प्रवेश गर्दा कोभिड नेगेटिभ पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्