शतप्रतिशत एलसीको प्रावधानले माछा तस्करी «

शतप्रतिशत एलसीको प्रावधानले माछा तस्करी

एलसी (प्रतीतपत्र) मा शतप्रतिशत रकम जम्मा गरेर मात्रै सामान आयात गर्नुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधानले सीमा क्षेत्रमा अवैध कारोबार फस्टाएको छ । देशको आर्थिक संकट टार्नका लागि लागू गरिएको प्रावधानले एलसी खोल्ने झन्झटिलो प्रक्रियाका कारण सीमाक्षेत्रमा अवैध कारोबारमा वृद्धि हुन थालेको छ । विभिन्न हार्डवेयर, लत्ताकपडा, स्पेयरपार्टस र माछा अवैध रूपमा भन्सार छलेर भिœयाउने गरिएको छ ।
नेपाल–भारतको खुला सीमामा हुने अवैध कारोबार नियन्त्रणमा लागि तैनाथ गरिएका सुरक्षाकर्मीहरूको आँखा छलेर तस्करी हुने गरेको छ । कतै भने सुरक्षाकर्मीकै मिलेमतोमा पनि खुलेआम तस्करी हुने गरेको स्थानीयले आरोप लगाउने गरेका छन् । सुरक्षा निकायले भने सीमाक्षेत्रमा शतप्रतिशत तस्करी रोक्न नसकिने प्रतिक्रिया दिने गरेका छन् ।
हार्डवेयर, लत्ताकपडा, स्पेयर पार्ट्स मात्रै होइन, नेपाल माछामा आत्मनिर्भर भइसकेको माछा पनि अहिले भारतबाट वीरगन्जको इनर्वा हँुदै व्यापक रूपमा अवैध ओसारपसार हुने गरेको छ । एक दिनमै २ हजारवटा साइकलमा भारतीय माछाको तस्करी हुने गरेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।
भारतबाट तस्करी गरिने माछा इनर्वा नाका हुँदै वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६, नगवामा गोदाम भण्डारण गर्ने गरिएको स्रोतको भनाइ छ । नगवामा माछा व्यापारीहरूले गोदाम नै लिएको र भारतबाट तस्करी गरिएको माछा गोदाममा भण्डारण गरी नेपालको विभिन्न बजारमा लैजाने गरेको छ ।
नगवाका गरभु साह तुराहा, बिपिन साह तुराहा र अजय कुमार साह तुराहा माछाका मुख्य व्यापारीहरू हुन् । उनीहरूले भारतबाट दैनिक साइकलमा ओसार्न लगाउने र नगवामा गोदाममा भण्डारण गर्ने गरेको स्रोतको दाबी छ ।
एउटा साइकलमा लोड गरिएको एक क्रेटमा ४२ केजी माछा आउने गरेको छ । स्रोतका अनुसार ४२ केजीको दर दैनिक झन्डै २ हजारवटा साइकलमा माछा तस्करी हुने गरेको छ । ४२ केजीको माछामा ५५ रुपैयाँको भन्सार लाग्ने र यसरी दैनिक कुल ४६ लाख २० हजार रुपैयाँको राजस्व छली हुने गरेको स्रोतको दाबी छ ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिलीप केसीले भने ताजा माछाको भन्सार नलाग्ने र अन्य प्रकारका माछाको भन्सार १३ प्रतिशत भ्याट र मूल्यमा ९ प्रतिशत भन्सार महसुल लाग्ने बताए । यसरी औसतमा २ हजारवटा साइकलमा ४२ केजीका दरले माछा तस्करी हुँदा दैनिक ८४ सय केजी माछा अवैध रूपमा वीरगन्ज भित्रिने गर्छ । माछा आयात गर्दा एलसी खोलेरै आयात गर्नुपर्ने र एलसीमा शतप्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधानले पनि तस्करी बढेको हुन सक्ने प्रमुख भन्सार अधिकृत केसीको अनुमान छ ।
यसरी अवैध रूपमा भित्रिने माछाको मात्रै दैनिक लाखौं रुपैयाँको राजस्व गुम्दा अन्य सामानहरूको पनि अवैध ओसारपसारमा भएको वृद्धिले महिनामा करोडौं रुपैयाँको भन्सार राजस्व राज्यले गुमाइरहेको छ । अहिले चाडपर्वहरू पनि नजिक आएकाले खाद्य तथा उपभोग्य वस्तुको बढी खपत हुने भएकाले पनि सीमाक्षेत्रमा अवैध कारोबारमा वृद्धि हुने गरेको हो ।
गत भदौ १ गते सशस्त्र प्रहरीले बिल बिजकभन्दा बढी सामान लोड गरेको भन्सार छलीसहितको ट्रक बरामद गरेर राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको थियो । त्यस्तै भदौ ३ गते पनि ५९ लाख ३४ हजार ७ सय ५८ रुपैयाँ मूल्यबराबरको प्रज्ञापनपत्रबिनाको सामान बरामद गरेको थियो । भदौ १६ गते १ करोडभन्दा बढीको प्रज्ञापनपत्रबिनाका विभिन्न सामानहरू लोड गरेको ट्रक बरामद गरी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्