विकासको पर्खाइमा कर्णाली «

विकासको पर्खाइमा कर्णाली

कर्णालीको विकासका लागि सार्वजनिक निजी साझेदारीको विकास गर्न सके एक दशकमै कर्णाली विकसित हुन्छ ।

चैतको अन्तिम साता एक अध्ययनको सिलसिलामा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्ला भ्रमण गरेको थिएँ । भ्रमणका सन्दर्भमा ती जिल्लाका नागरिकसँग विभिन्न विषयमा छलफल पनि गरियो । आमनागरिकले विकासको आशा र विकटताको गुनासो सुनाए । पुरानो पुस्ताले कर्णालीको गरिबी, अशिक्षा, बेरोजगारी, अन्धविश्वास र विभेदका विषयमा चर्चा गरे भने अधिकांश युवा जमातले कर्णालीको सम्भावनाको कुरा गरे । कर्णालीको अध्ययन, अवलोकन र नागरिकको अनुभूतिलाई समेटेर पंक्तिकारले यो आलेख तयार गरेको छ । नेपालको पुरानो सभ्यता र संस्कृति जोडिएको कर्णाली प्रकृतिको अनुपम उपहार हो । भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो कर्णाली प्रदेश आर्थिक, सामाजिक र पूर्वाधारका हिसाबले सबैभन्दा कमजोर छ । प्राकृतिक सम्पदाले भरिपूर्ण कर्णाली जल, जंगल, जडीबुटी, जमिन र जलस्रोतको खानी हो । प्राकृतिक सम्पदालाई प्रभावकारी रूपमा उपयोग गर्न सके कर्णाली मुलुककै नमुना प्रदेश बन्न सक्छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण कर्णाली सरकारको प्राथमिकतामा भने पर्न सकेन, जसले गर्दा कर्णालीमा गरिबी, अशिक्षा, बेरोजगारी बढ्दै गयो । पूर्वाधार विकासमा पछाडि प¥यो । विभिन्न कारणले पछाडि परेको कर्णाली विकासको पर्खाइमा छ । यस आलेखमा कर्णालीको समस्याभन्दा पनि सम्भावनाको पाटोको चर्चा गर्न खोजिएको छ । कर्णालीको समृद्धिका आधारहरू के हुन सक्छन् ? सम्भावना के छ ? स्रोतसाधनको परिचालन कसरी गर्ने ? भन्ने विषयमा यो आलेख केन्द्रित छ ।

समृद्धिको आधार पाँच ‘ज’
कर्णालीको विकासका लागि पाँच ‘ज’ जल, जंगल, जडीबुटी, जमिन र जनशक्तिको उपयोग गर्नुपर्छ । नेपालको सबैभन्दा ठूलो नदी कर्णाली र अन्य नदीहरूबाट जलविद्युत्को विकास, सिँचाई, खानेपानीको आपूर्ति सहज बनाउन आधुनिक प्रविधिको प्रयोगमा जोड दिने । नेपालमा वनले ५९ लाख ६२ हजार हेक्टर भूभाग ओगटेको छ, जुन नेपालको कुल क्षेत्रफलको ४०.३६ प्रतिशत ओगटेको छ । त्यसमा पनि कर्णाली प्रदेशको ठूलो हिस्सा छ । वनको वैज्ञानिक उपयोग गरी वनमा आधारित उद्योगबाट रोजगारी सिर्जना गर्न सके जीविकोपार्जनमा सहज बन्छ । कर्णालीमा नेपालमा पाइने र लोपउन्मुख जडीबुटीको खानी छ भन्दा अत्युक्ति नहोला । यार्सागुम्बा, पाँचऔले, जटामसीलगायतका बहुमूल्य जडीबुटी कर्णाली प्रदेशका विभिन्न जिल्लामा पाइन्छ । जडीबुटीको संकलन, भण्डारण तथा प्रशोधन गरी उच्चमूल्यमा बिक्री–वितरण हुने व्यवस्था मिलाउनुपर्छ, जसबाट कर्णालीले ठूलो आर्थिक लाभ लिन सक्छ । भूगोलका हिसाबले कर्णाली नेपालको सबैभन्दा ठूलो छ । पहाडी भूबनोटमा छरिएर रहेको बस्तीले गर्दा जमिनको उपयोगमा चुनौती छ । यसका लागि राज्यले भूउपयोग नीति बनाई एकीकृत बस्ती विकासमा जोड दिनु आवश्यक छ, जसले गर्दा पूर्वाधार विकासमा सहज हुन्छ । जमिनको उपयोग गरी उत्पादन बढाउन प्राङ्गारिक कृषि प्रणालीमा जोड दिने नीति अवलम्बन गर्नु जरुरी छ । खेर गएको कर्णालीको पानी र जवानीलाई उपयोग गर्न हरित रोजगारी सिर्जना गर्न सके रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक जानुपर्ने बाध्यता अन्त्य हुने थियो ।

पर्यटन प्रवद्र्धन
कर्णालीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा रहेका पर्यटकीय गन्तव्यहरू छन् । रारा, शेफोक्सुन्डो, मानसरोवरजस्ता प्राकृतिक सम्पदा र त्रिपुरासुन्दरी, चन्दननाथ, पाण्डव गुफाजस्ता धार्मिक स्थलले गर्दा पर्यटकहरूलाई आकषित गरेको छ । त्यसमा पनि परम्परागत बस्ती, नेपाली भाषा र संस्कृतिको उद्गम थलो, नेपाली वेशभूषा, खानपानले स्वदेशी एवं विदेशीलाई आकर्षित गर्छ । स्वच्छ वातावरण, नागबेली सडक, प्राचीन सभ्यताका घर, पहाडी जनजीवन, कर्णालीको सुसेलीसँग रमाउँदै यात्रा गर्नु स्वर्गीय अनुभूति हुन्छ । प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण कर्णाली साहसिक पर्यटनको पनि सम्भावना भएको क्षेत्र हो । प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइकिलिङ, माउन्टेन फ्लाई, बाइक रेस, स्नो स्टिमलगायतका साहसिक पर्यटनको सम्भावना छ । दुर्लभ वन्यजन्तु, बोटबिरुवा, जडीबुटी, चराचुरुङ्गीको अवलोकनले पर्यटकलाई आकर्षित गर्छ । निकै महत्वपूर्ण रारा र शेफोक्सुन्डो निकुञ्जले जैविक विविधताको संरक्षण गरेको छ । अझै भन्नुपर्दा कर्णाली मुलुककै पहिलो र आकर्षक पहिलो पर्यटकीय गन्तव्य हो । कर्णाली पर्यटन गुरुयोजना निर्माण गरी पर्यटन गन्तव्यहरूको व्यापक प्रचारप्रसार गर्न जरुरी छ । कर्णालीको समृद्धिको आधार नै पर्यटन र जडीबुटी हो । यसको दिगो व्यवस्थापन र उपयोग गर्न सके कर्णालीको समृद्धि सम्भव छ ।

पूर्वाधार विकास
समृद्धिको महत्वपूर्ण सूचक पूर्वाधार विकास नै हो । पूर्वाधारको विकासबिना समृद्धिको सपना कुरामा मात्र सीमित हुन्छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये अझै पनि हुम्ला र डोल्पा सडक सञ्जालसँग जोडिन सकेको छैन । भएको एक मात्र कर्णाली राजमार्ग पनि गतिलो छैन । विमानस्थलको अवस्था पनि निकै नाजुक छ । विमानस्थल छन्, तर पर्याप्त विमान छैनन् । ढुवानी निकै महँगो छ । सामान्य बिरामी हुँदासमेत सदरमुकाम तथा सुर्खेत नेपालगन्ज धाउनुपर्ने बाध्यता छ । सामान्य अस्पताल छन्, तर डाक्टर र औषधीको अभाव छ जसले गर्दा बर्सेनि कैयौं मानिस अकालमा ज्यान गुमाउन बाध्य छन् । विद्यालय छन् तर स्तरीय शिक्षा छैन । बनेको बाटोमा पनि पक्की पुल छैन । तुइनबाटै मानिसहरू दैनिक जीविकाका लागि आवतजात गर्न बाध्य छन् । यस्ता यावत् समस्याबाट पीडित कर्णालीवासीहरू मुक्त गर्न पूर्वाधार विकासमा जोड दिनु जरुरी छ । विकासको पर्खाइमा रहेको कर्णालीको प्रमुख प्राथमिकता भनेको पूर्वाधार विकास नै हो । सडक, खानेपानी, विद्युत्, सञ्चार प्रविधिको विकास र विस्तारमा ध्यान दिनु आवश्यक छ । सडक सञ्जाल नहुँदा नागरिकको बजारसम्मको पहँुच पुग्न सकेको छैन, जसले गर्दा दैनिक उपभोग्य वस्तुहरू महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । आफ्नो आम्दानीको ठूलो हिस्सा उपभोग्य वस्तुमै खर्च गर्नुपर्ने विवशता छ, जसले गर्दा कर्णालीमा गरिबी बढाएको छ । पूर्वाधारको विकासले नै जनजीविका सहज बनाउँदै अवसरको सिर्जना गर्छ । यसले आर्थिक र सामाजिक विकासमा टेवा पु¥याउँछ । पूर्वाधार विकासका लागि सुविधा सम्पन्न अस्पताल, गुणस्तरीय शिक्षाका लागि क्याम्पस तथा विश्वविद्यालय, सबै जिल्लामा सडक सञ्जालको विस्तार, हवाई सेवाको विकास र विस्तार, औद्योगीकरण र व्यवस्थित सहरीकरणका निमित्त तीन तहकै सरकारको प्राथमिकता हुनुपर्छ ।

रोजगारी एवं उद्यमशीलता
केन्द्रीय तथ्यांक विभागको २०७५ को सर्वेक्षणका अनुसार कर्णाली प्रदेशको गरिबीको रेखामुनि रहेको जनसंख्या ३९.८ प्रतिशत र आर्थिक रूपले अति पछाडि परेको जनसंख्या ४४.२ प्रतिशत छ भने बहुआयामिक गरिबी ५१.२ प्रतिशत छ । यो सूचकले कर्णाली शिक्षा, स्वास्थ्य, आर्थिक क्षमता, खानेपानी, आवास, सरसफाइ, विद्युत्जस्ता आधारभूत सुविधाहरूको उपलब्धता र पहुँचको दृष्टिकोणबाट ज्यादै न्यून रहेको देखिन्छ । पर्याप्त उत्पादनशील तथा आयमूलक रोजगारीका अवसरहरू सिर्जना हुन नसकेकाले बेरोजगारी दर बढ्दो छ । वैदेशिक रोजगार तत्कालका लागि बेरोजगारीको विकल्पका रूपमा देखा परेको छ । कर्णाली प्रदेशको हकमा यो अवस्था अझै भयावह छ । औद्योगिक संरचना नहुनु, मौसमी कृषि पेसामा आधारित आर्थिक अवस्था, विकट भूबनोट एवं आर्थिक विपन्नताले गर्दा भारतमा रोजगारीका लागि जाने गरेको पाइन्छ । बढ्दो बेरोजगारी समस्या कम गर्न व्यावसायिक विकास र स्वरोजगार प्रवद्र्धन गर्न युवाहरूलाई परियोजनामा आधारित सहुलियत कर्जा उपलब्ध गराउनुपर्छ । कर्णाली प्रदेशभित्र उपलब्ध जलस्रोत, जडीबुटी, जंगल तथा पर्यटकीय स्थलहरूमा सार्वजनिक निजी साझेदारीको विकास गर्न सके रोजगारीको अवसर सिर्जना हुन्छ । श्रमबजारका लागि अनुकूल श्रमशक्ति आपूर्ति गर्ने वातावरण तयार गर्न उत्पादन वृद्धि र लगानी प्रवद्र्धनमा जोड दिनुपर्छ, तसर्थ कर्णाली प्रदेश सरकारले प्रदेशभित्र लगानीमैत्री वातावरण तयार गरी रोजगारी सिर्जना गर्नुपर्छ । असल श्रमसम्बन्ध र श्रम–संस्कृतिको विकास गर्नु जरुरी छ । वैदेशिक रोजगारलाई व्यवस्थित गर्दै प्रदेशमै उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । युवा जनशक्तिलाई सही रूपमा परिचालन गर्न सके कर्णालीको समृद्धि सुनिश्चित छ ।

कृषिको विकास
आर्थिक सर्वेक्षण २०७४-७५ अनुसार कर्णाली प्रदेशको जमिनमध्ये खेतीयोग्य जमिन १८ प्रतिशतमात्र छ । त्यसमध्ये ७५.५ प्रतिशत जमिन मात्र खेतीयोग्य छ भने २३ प्रतिशतमा मात्र सिँचाई सुविधा पुगेको छ । देशको कुल गार्हस्थ्य उत्पादनमध्ये कृषि उत्पादनको हिस्सा ३० प्रतिशत रहेकोमा कर्णाली प्रदेशले सबैभन्दा कम ४ प्रतिशत मात्र योगदान गरेको छ । यस परिवेशमा कर्णाली प्रदेशमा कृषिको विकास र विस्तार गर्न प्रांगारिक कृषि प्रणालीमा जोड दिनुपर्छ । लोपोन्मुख कृषि प्रजातिको संरक्षण गर्दै कर्णालीलाई प्रांगारिक कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने नीति र कार्यक्रम सञ्चालन गर्नु आवशयक छ । किसानले कृषिउपजको उच्च मूल्य पाउन मूल्य श्रृंखलासँग जोड्नुपर्छ । कर्णालीमा उत्पादित मार्सी चामल, सिमीको दाल, आलुलगायतका वस्तुहरूको उत्पादनमा वृद्धि गरी अन्य प्रदेशमा निर्यात गर्ने । कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन वैज्ञानिक कृषि प्रणालीमा जोड दिनुपर्छ । कृषिलाई व्यवसायीकरण गरी रोजगारी तथा उद्यमशीलताको विकास गर्न सकिन्छ ।

निष्कर्ष
कर्णाली प्रदेश सम्भावनाको खानी हो । प्रकृतिको अपार सम्पदा यस प्रदेशको महत्वपूर्ण स्रोत हो । जैविक विविधताको भरिपूर्ण कर्णाली स्वर्गको टुक्रा हो । विकासको पर्खाइमा रहेको कर्णाली भर्जिन ल्यान्ड हो । कर्णालीले समृद्धिका लागि भिजनरी नेतृत्व, कुशल प्रशासक, कर्मशील युवा जनशक्ति, सशक्त नागरिक समाजको खोजीमा छ । निराशामा बाँचेका कर्णालीवासीमा आशाको सञ्चार गराउन विकासको मूल फुटाउनुपर्नेछ । दुःखको गीत होइन, अब सुख र समृद्धिका गीत गाउनु छ । कर्णालीको समृद्धिका लागि स्थानीय, प्रदेश र संघीय सरकारको एकीकृत नीति, योजना र कार्यक्रम ल्याउनुपर्छ । जल, जमिन र जडीबुटीको दिगो उपयोग गर्न सके मात्र आर्थिक क्रान्ति हुन्छ । पर्यापर्यटनको विकास गरी पर्यटन वृद्धि गर्न सकिन्छ । कर्णाली, भेरी र तिला नदीबाट ठूलो मात्रामा जलविद्युत् उत्पादन गर्न सकिन्छ । खाली डाँडाहरूमा वृक्षारोपणसँगै जडीबुटी खेती गर्न सकिन्छ । नयाँ र साहसिक पर्यटकीय गन्तव्य छनोट गरी पर्यटन उद्योगको विकासमार्फत लाखौं युवाहरूलाई रोजगारी दिन सकिन्छ । प्रांगारिक कृषि प्रणालीको विकास र विस्तार गरी कृषि उत्पादनमा आत्म निर्भर बन्न सकिन्छ । वातावरणमैत्री पूर्वाधारको विकास गर्न सकिन्छ । विविधतासहितको विकासले नै नयाँ मोडल दिन सक्छ । भौगोलिक विविधतालाई अवसरका रूपमा उपयोग गरी सन्तुलित विकास गर्न सकिन्छ । लगानीको अभावमा कर्णालीमा भएको प्रचुर सम्भावना, सम्भावनामै सीमित हुन पुगेको छ । अतः कर्णालीको सम्भावनालाई साकार पार्न राज्यले लगानीको वातावरण सिर्जना गर्नुपर्छ । नागरिकहरू सशक्त र जागरुक हुनुपर्छ । कर्णालीको विकासका लागि सार्वजनिक निजी साझेदारीको विकास गर्न सके एक दशकमै कर्णाली विकसित हुन्छ । त्यसका लागि विकासको रोडम्याप तयार गरी उच्च मनोबलका साथ काम गर्ने हो भने कर्णाली नेपालकै नमुना र समृद्ध प्रदेश बन्नेछ ।
(लेखक राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्