भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी

सरकारले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सन् २०२३–२०३३ लाई ‘नेपाल भ्रमण दशक’को रुपमा छिट्टै घोषणा गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंगलबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ लाई सम्बोधन गर्दै सरकारले पर्यटक दशक घोषणा गर्न लागेको बताएका हुन् । सम्बोधनको क्रममा मन्त्री श्रेष्ठले भने, “पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’को रूपमा मनाउन आवश्यक तयारी अगाडि बढाएको छ । पर्यटन क्षेत्रको दिगो विकासका लागि भ्रमण वर्षभन्दा भ्रमण दशक आवश्यक भएकोले भ्रमण दशक कार्यक्रमलाई अघि सारिएको ।”
पर्यटक आगमन बढाउन तथा पर्यटन उद्योगको विकासका लागि भ्रमण दशकको अवधारणा ल्याइएको मन्त्री श्रेष्ठको भनाइ छ ।
मन्त्री श्रेष्ठले मन्त्रालयको कार्यभार समाले पछि ८ साउनमा पर्यटन पुर्नरुत्थानका लागि ७४ बुँदे कार्ययोजना सार्वजनिक गरेका थिए । सो कार्ययोजनमा मन्त्री क्षेत्रले पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि आगामी सन् २०२३–२०३३ लाई पर्यटक दशकको रुपमा घोषणा गरेर मनाउने र यसको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना अघि सारेका थिए । हाल भ्रमण दशकको रुपमा मनाउन आवश्यक तयारी भइरहेको जनाइएको छ ।
नेपालमा पर्यटन आगमनमा वृद्धि गर्न र नेपालको पर्यटन उद्योगको विकासको लागि भ्रमण दशकका रुपमा मनाउन लागिएको मन्त्री श्रेष्ठले बताए । यसको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल पर्यटन बोर्ड तथा अन्य सम्बन्धित मन्त्रालयको सहयोगमा ३ महिनाभित्र आवश्यक तयारी गरेर प्रकृया आगाडि बढाउने कार्ययोजना उल्लेख गरिएको थियो । सोही कुरा मन्त्री श्रेष्ठले मंगलबार पनि दोहोर्याए तर कार्ययोजनाको तयारी कहाँ कसरी भइरहेको बारे भने खुलाएका छैनन् ।
सम्बोधनमा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गुणस्तरीय सिपयुक्त जनशक्ति उत्पादन न्याथमले गुणस्तरीय सेवा प्रदान गरी सरकारी शैक्षिक संस्थाका रुपमा नमूना प्रस्तुत गरेको मन्त्री श्रेष्ठले बताए । पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई सरकारले प्राथमिकता दिएको र पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी शिक्षालाई स्थानीय तहसम्म विस्तार गर्नु योजना रहेको बताएका छन् ।
नेपालमा होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालिम प्रदान गर्ने एक मात्र सरकारी निकायका रुपमा रहेको प्रतिष्ठानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको व्यवस्था गरिने मन्त्री श्रेष्ठले बताए ।
मुलुकका सबै जातजाति र भाषाभाषीका स्थानीय खानाका मौलिक परिकारको अनुसन्धान गर्ने कार्यक्रम पनि प्रतिष्ठानले अघि सारेको छ । विभिन्न जातीय आतिथ्य र स्वागत गर्ने परम्परागत संस्कृति र शैलीबारे पनि अध्ययन – अनुसन्धान अघि बढाउने प्रतिष्ठानले योजना बनाएको छ भने सार्क सदस्य मुलुक, बिमस्टेक र चीनका विद्यार्थीलाई लक्षित गरी अन्तर्राष्ट्रियस्तरको पढाइ सञ्चालन गर्ने योजना समेत अघि सारेको जनाइएको छ । पर्यटकीय जनशक्ति उत्पादनमा काम गर्दै आएको नाथमले स्थापनाको पचास बर्ष पुगेको अवसरमा पर्यटन सम्मेलन आयोजना गरेको हो । दुई दिनसम्म चल्ने सम्मेलनमा देश विदेशका पर्यटन क्षेत्रका विज्ञ, प्राध्यापक तथा व्यवसायीहरुले पर्यटन क्षेत्रका विभिन्न आयामहरुबारे छलफल गर्नेछन् ।