मुख्यमन्त्री पाण्डेलाई अध्यक्ष तिमिल्सिनाले भने: संघीयता जेसुकै होस् तर सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस्

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागेपनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिएका छन् ।
सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले संघीय ऐनहरू केन्द्र सरकारबाट पास भइरहँदा प्रदेश र स्थानीय तहको अधिकार खोसिने गरी आएको खण्डमा गलत हो भन्ने पक्षमा संसदमा हात उठाउनुपर्ने बताए ।
सोही कार्यक्रममा बोल्ने क्रममा वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विपरित भएको भन्दै सो विधेयक किन पारित गरेको ? भनी राष्ट्रिय सभालाई प्रश्न गरेका थिए ।
राष्ट्रियसभा आफैंले संविधानको, संघियताको विरुद्धमा गएर विधेयकहरू पारित किन गरेको भन्ने मुख्यमन्त्री पाण्डेको आरोपको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले दलको ह्वीप नलाग्ने गरेर सांसदहरूलाई स्वतन्त्रता प्रदान गर्न आवश्यक रहेको बताए । उनले अहिले बनेको गठबन्धनको सरकार टुट्ने अवस्थामा संघीयताको हक, अधिकार नहेरी किन गठबन्धन बचाउनका लागि किन हात उठाउनुहुन्छ भन्दै प्रशन गरे ।
अध्यक्ष तिमिल्सिनाले दलको आदेश र ह्वीपका कारण सांसदहरूले पद खोसिने डरले पनि संघीयताको अधिकार खोस्ने विधेयकमा सहमति जनाइरहेको दाबी गरे । उनले सरकारले ल्याएका कुनै पनि विधेयकहरू फेल भएमा सरकार नरहने भन्ने चिन्ताले सबै विधेयकमा सांसदहरू पार्टीको ह्वीपका कारण सहमति जनाउन बाध्य बनेको उल्लेख गर्दै ह्वीप नलाग्ने गरेर सांसदहरूलाई स्वतन्त्र ढंगले छोड्नुपर्ने बताए । उनले हालै आएको नागरिकता विधेयकमा पनि संसदमा छलफलका क्रममा बिरोध जनाएका सांसदहरू नै पास गर्ने बेलामा संसदबाटै भागेको बताए । उनले कुनै डरबिना नि:स्वार्थ बनेर काम गर्ने हो भने संघीयता र गणतन्त्र बचाउन सकिने पनि स्पष्ट पारे ।
उनले भने, ‘मुख्यमन्त्रीजीले ऐन नै देखाएर भन्नुभयो, ऐन निर्माणको हिसावले संघीय सरकार, संघीय संसदले सब संघीयताको पक्षधर लिने सबै काम शतप्रतिशत ठिक गरेको छ भन्ने होइन । हामीले गरेका प्रत्येक आलोचना गर्दा त्यहाँ कुनै अफ्ठ्यारो मान्नुपर्ने विषय नै छैन । दु:ख मनाउ गर्नुपर्ने विषय छैन । तर, यहाँ विधि निर्माण गर्न त जानुहुन्छ । हिजोको संसदमा हुनुहुन्थ्यो प्रतिनिधि सभामा । संविधान सभामा हुनुहुन्थ्यो, यहाँ पनि अहिले मुख्यमन्त्री हुनुहुन्छ । तपाईहरूका प्रदेश सभाका माननीयहरूले कतिपय कुरा चित्त नबुझेर सदनमा पहिला बोल्नुहुन्छ, हात उठाउँदा कता बोल्नुभएको छ । त्यहीँ छ नि । राष्ट्रिय सभामा यस्तै अरु ऐनको बारेमा प्रदेशमा जानुपर्छ यी अधिकारहरू, स्थानीय तहमा जानुपर्छ, संघमा कम जानुपर्छ भनेर बोल्नुभएको छ, रेकर्ड हेर्ने हो भने थाहा पाइन्छ । अन्तिममा तपाईहरू जस्तै दलका नेताहरूको दलको ह्वीप लाग्छ । मुख्यमन्त्रीज्यू तपाईंले ह्वीप जारी गर्नुहुन्छ । तपाईलाई अलिकति अफ्ठ्यारो परोस्, गठबन्धन खत्तम हुने हो भने तपाईं गर्नुहुन्छ कि गर्नुहुन्न ? मलाई यो भन्नुहोस् । त्यही कारणले हो, हामी एक जनाको कमजोरीले होइन । दलको आदेश आउँछ, बिल फेल भयो भने सरकार गिर्छ, हाम्रो परम्परा यस्तो छ । सरकारले ल्याएको बिल फेल हुनुभन्दा सरकार बँचोस् संघीयता जेसुकै होस् भनेर हात ठड्याउने हो । यो जहाँको पनि व्यवहार त त्यही हो नि । यसलाई किन लुकाउने ? हालै नागरिकता ऐन आयो, नागरिकता ऐनको बारेमा प्रतिनिधि सभा, राष्ट्रिय सभामा विभिन्न ढंगले बोल्नुभयो । बोल्ने बेलामा दरो ढंगले बोल्नुभयो, अहिलेका कुराहरू ठिक छैनन् भनेर तर भोटिङ गर्ने बेलामा टाप ठोक्नुभयो किन ? बोलेअनुसार हात उठाउन सक्नुभएन, हात उठाए बिरोधमा जाने भयो, कारबाही हुन्छ, लुसुक्क बाहिर जानुभयो । कोही त्यहीँ बसेर पनि हात उठाउनु भयो । समर्थनमा । बोल्दा बिरोधमा, हात उठाउँदा समर्थनमा । यो खालको नियति छ नि हाम्रा सांसदहरूको । संघीयताको बारेमा वकालत गर्नेहरू पनि संघीयतालाई बलियो बनाउने कुरा छोेडेर हात उठाउनु हुन्छ । यस कारणले आएको हो, माननीय मुख्यमन्त्रीज्यू, यसमा भ्रम नपरोस् । यो राष्ट्रिय सभाका माननीय सदस्यहरूको कारणले होइन, सरकारको कारणले आएको हो । त्यही सिहावले सरकारमा रहनेहरू नै त्यसबाट आफूलाई करेक्शन गर्नेतिर जानुपर्छ । वा ह्वीप नलाग्ने गरेर यस्ता कुरामा सांसदहरूलाई स्वतन्त्र ढंगले छोड्नुपर्छ । त्यो आँट गर्नुपर्छ, त्यो हिम्मत ल्याउनुपर्छ । नेताले भोलि टिकट नदेला, मन्त्री नदेला, बनेको पद खुस्काइदेला । यस्तो प्रलोभनमा हामी सबै लोभीपापी भएका छौँ । एकातिर बोल्छौँ, स्वार्थको लागि अर्को गर्छौं । जे बोल्छौँ, त्यो गर्ने बोलौँ । नि:स्वार्थी बनौँ, स्वार्थी नबनौँ, गणतन्त्र, संघीयता सबै सफल हुन्छ ।’
उनले अहिले संघीयता ठीक कि बेठीक भनेर अन्तरक्रिया गर्ने बेला नभएको उल्लेख गर्दै सबलीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताए । अहिले संघीयताको सैद्धान्तिक कुरा गर्ने बेला नभइ संघीयता आवश्यक छ भनेर प्रमाणित गर्नुपर्ने बेला भएको बताए ।