घरैमा आइपुग्छ अभिकर्ता लाइसेन्स

जीवन बिमा कम्पनीहरूले घरैमा पुगेर अभिकर्ता लाइसेन्स वितरण गर्न थालेका छन् । बजार विस्तार गर्ने प्रतिस्पर्धामा उत्रिएका कम्पनीहरूले व्यवसाय बढाउन बिमितलाई नै अभिकर्ताको लाइसेन्स दिन गरेको पाइएको छ ।
अभिकर्ता भनेको बिमा कम्पनी र बिमितबीचको मध्यस्थकर्ता हो । कुनै पनि बिमा कम्पनी वा समितिले आयोजना गरेको अभिकर्ता तालिममा सहभागी भएका व्यक्तिले अभिकर्ताको लाइसेन्स लिन सक्छन् । यसअघि अभिकर्ताको लागि समितिले आफैंले तालिम आयोजना गरे पनि पछिल्लो एक दशकदेखि भने विमा कम्पनीहरूले नै यस्तोखाले तालिम आयोजना गर्दै आएका छन् । कम्पनीहरूले सञ्चालन गरेको तीन दिने तालिममा सहभागी भएका व्यक्तिले कम्पनीकै सिफारिसको आधारमा समितिबाट लाइसेन्स पाउँछन् । तर, तालिममा सहभागी नभएका व्यक्तिलाई समेत कम्पनीहरूले सिफारिश गरी अभिकर्ता लाइसेन्स दिलाउँदै आएका छन् ।
तालिम बिनै लाइसेन्स वितरण गर्ने काम पहिलेदेखि नै हुँदै आए पनि नयाँ कम्पनीहरू थपिएपछि यस्तो क्रम झनै बढेको जनप्रिय बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं बिमाविज्ञ डा. दामोदर बसौलाले बताए । “अहिले कम्पनीहरूले प्रत्येक विमितलाई अभिकर्ता बनाइदिएका छन्, लाइसेन्स लिऊ, आफ्नै बिमा गर अनि कमिसन खाऊ,” उनले भने, “अहिले हरेक व्यापारीको हातमा अभिकर्ताको लाइसेन्स छ ।”
कम्पनीहरूको सिफारिसमा समितिले लाइसेन्स वितरण गर्न थालेपछि यसको दुरूपयोग हुन थालेको पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्दप्रसाद तिवारीले बताए । “समितिले सात दिनको तालिम दिन्थ्यो । अहिले कम्पनीहरूले यसलाई तीन दिनमा छोट्याएका छन् । त्यही तालिम पनि लिनु पर्दैन । मानिसको घरमा नै पुग्छ लाइसेन्स,” उनले भने, “अभिकर्ताको लाइसेन्स वितरण गर्ने प्रक्रिया नै गलत छ । तालिम एउटा संस्थाले दिने अनि लाइसेन्स अर्कोले दिने । तालिम लिए नलिएको अनुगमन हुनु पर्दैन ।”
तर, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले भने कम्पनीहरूले तालिमबिना लाइसेन्स वितरण नगरेको दाबी गरे । “तालिम नलिएको व्यक्तिले व्यवसाय गर्न नै सक्दैन, त्यसैले यसरी लाइसेन्स वितरण गर्नुको औचित्य नै छैन,” उनले भने ।
बिमा ऐन २०४९ का अनुसार बिमा अभिकर्ता भन्नाले विमकको तलबी कर्मचारी नभइ कमिसनको आधारमा बिमकको तर्फबाट काम गर्ने इजाजतपत्र प्राप्त व्यक्ति सम्झनुपर्छ । सोही ऐनको दफा ३० अनुसार बिमा अभिकर्ताको रूपमा काम गर्न चाहने तोकिएबमोजिमको योग्यता पुगेको व्यक्तिले सम्ब्न्धित बिमकको सिफारिससहित समितिमा निवेदन दिनु पर्नेछ । निवेदन प्राप्त भएपछि समितिले उक्त निवेदनउपर आवश्यक जाँचबुझ गर्दा इजाजत पत्र दिन हुने देखिएमा निवेदकलाई तोकिएको दस्तुर लिइ तोकिए बमोजिमको ढाँचामा बिमा अभिकर्ताको इजाजतपत्र दिनु पर्नेछ र इजाजतपत्र दिनु नपर्ने कुनै कारण भएमा त्यसको जानकारी समितिले सम्बन्धित निवेदकलाई दिनुपर्नेछ ।
बिमकले सञ्चालन गर्ने बिमा अभिकर्ताका तालिम निर्देशिका २०७२ अनुसार बिमा अभिकर्ता तालिम कम्तिमा १७ घण्टाको हुनुपर्नेछ । प्रशिक्षार्थी तालिम कार्यक्रमको पूरै अवधिभर उपस्थिति हुनुपर्नेछ । तालिम कार्यक्रम सञ्चालनमा संलग्न कर्मचारीले प्रत्येक कक्षामा प्रशिक्षार्थीको उपस्थितिको अभिलेख राख्नुपर्नेछ । तालिम अवधिको ७५ प्रतिशतभन्दा कम उपस्थिति हुने कुनै पनि प्रशिक्षार्थीलाई तालिम कार्यक्रममा सहभागिताको प्रमाणपत्र प्रदान गर्न पाइने छैन ।