उपत्यका बाहिर पनि फोरजी प्रतिस्पर्धा «

उपत्यका बाहिर पनि फोरजी प्रतिस्पर्धा

मुलुकको दूरसञ्चार क्षेत्रमा लामो बहस र विवादपछि सुरु भएको फोर जी सेवा उपत्यकाबाहिर पनि पनि उत्साहजनक रूपमा विस्तार भएको छ । राजधानी काठमाडौंमा फोरजी सेवा सुरु भएको ६ महिनामै मुलुकका धेरै सहरी क्षेत्रमा यसको विस्तार भइसकेको छ भने अहिले तीव्र गतिमा विस्तार भइरहेको छ । 

राजधानीका उपभोक्ता फोरजीको सेवामा अभ्यस्त हुँदै गर्दा सेवा प्रदायक कम्पनीहरू उपत्यकाभन्दाबाहिर पनि आक्रामक भएर विस्तारमा लागेका छन् । नेपाल टेलिकम र एनसेलबीच अहिले कसले छिटो उपत्यकाबाहिर फोरजी सेवा पु¥याउने भन्ने होड नै सुरु भएको छ ।

सन् २०१७ को जनवरी १ देखी फोरजी सेवा सुरु गरेको टेलिकमले अहिले राजधानी र पोखरमा सेवा विस्तार गरेको छ भने डेढ महिनाअघि मात्रै टेक्नोलोजी न्युट्रल गरेर फोरजी सेवा पाएको एनसेलले पोखरा र दमौलीमा एकैसाथ यसैसाता फोरजी सेवा सुरु गरेको छ ।

एकातिर सरकारी स्वामित्वको कम्पनी र अर्काेतिर निजी कम्पनी प्रतिस्पर्धामा उत्रँदा मूल्य र गुणस्तर दुवैका दृष्टिले उपभोक्तालाई फाइदा हुन्छ । आर्थिक रूपमा सम्पन्न भए पनि अन्तर्राष्ट्रिय बजारीकरणको अनुभवी एनसेलसँग प्रतिस्पर्धा गर्नु टेलिकमका लागि लागि चुनौती हो ।

राजधानी र पोखरामा फोरजी सेवा पु¥याएको टेलिकमले देशव्यापी रूपमा फोरजी सेवा पु¥याउन टेन्डर प्रक्रियामा छ । “सरकारको लगानी भएको कम्पनीले सार्वजनिक खरिद ऐन पालना गर्नुपर्ने भएकाले हामीले सोचेअनुसार छिटो काम गर्न सक्दैनौं,” टेलिकम प्रवक्ता प्रतिभा वैद्य भन्छिन्, “गाउँ र दूरदराजसम्म पुगेर हामीले नै सेवा दिएका छौं, नाफासँगै हाम्रो दायित्व पनि बढी छ ।”

तुलनात्मक रूपमा सहरमा सेवा दिनुभन्दा गाउँ र विकट क्षेत्रमा सेवा पु¥याउनु दशौं गुणा असहज भएको भन्दै उनले सरकारको इ–गभर्नेन्स लक्ष्यअनुसार काम गरिरहेको बताइन् ।

टेलिकमले टूजीलाई थ्रीजी र थ्रीजीलाई फोरजीमा स्तरोन्नति गर्दै देशव्यापी रूपमा सेवा   पुर्याउने कसरत गरेको छ । हालसम्म कम्पनीका फोरजी ग्राहक ६ लाख पुगेका छन । सन् २०१७ को अन्त्यसम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी   पुर्याउँदै ‘डिजिटल नेपाल’ निर्माणमा योगदान गर्ने योजनासहित एनसेल आक्रामक बजारीकरणमा उत्रिएको छ ।

“फोरजी सेवा विस्तार गर्दै देशलाई नयाँ प्रविधिमा समकालिन विश्वसँग उभ्याउन तथा ग्राहकलाई नयाँ प्रविधिका विविध लाभहरू प्रदान गर्न एनसेल प्रतिबद्घ छ,” एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने ।

एनसेलले टेक्नोलोजी न्युट्रल गरेर फोरजी अनुमति पाएपश्चात पहिलो चरणमा जेठ तेस्रोसाता काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा सुरु गरेको थियो ।

ग्रामिण र दुर्गम स्थानहरूलाई ध्यानमा राखी २०१८ भित्र थ्रिजी सेवाको कभरेज दोब्बर बनाउदै देशको कुल जनसंख्याको ६० प्रतिशतमा पु¥याउने गरी काम भइरहेको उनले जानकारी दिए । २०१८ भित्र देशको ४० सहरहरूमा फोरजी सेवा पु¥याउने एनसेलको योजना छ । 

प्रतिक्रिया दिनुहोस्