ऐना झ्यालको पुतलीलाई सकारात्मक प्रतिक्रया

नेपाली चलचित्र ऐना झ्यालको पुतलीले सकारात्मक प्रतिक्रया पाएको छ ।
सोमवार काठमाडौं भएको प्रिमियर ‘शो’मा दर्शक बनेर पुगेका कलाकार, साहित्यकार र राजनीतिज्ञहरूले चलचित्र धेरै राम्रो रहेको प्रतिक्रिया दिए । उनीहरूले चलचित्रले आफ्नो बाल्यकालको परिवेशलाई सम्झाउने बताए ।
चलचित्र हेर्नका नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केकी अधिकारी, प्रकाश सपुतलगायतको उपस्थिति थियो । चलचित्र हेरिसकेपछि अभिनेता दीपकराज गिरीले सानो बेलामा आफ्नो परिवेशलाई स्मरण गर्न बाध्य बनाउने चलचित्र रहेको बताए । उनले कथावस्तु सानो लाग्ने तर फिल्मको सन्देश भने व्यापक रहेको बताए । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले चलचित्रका पात्रलाई दर्शकले आफैं हुँ जस्तो बनाउने गरी चलचित्र प्रस्तुत गर्नु उत्कृष्ट रहेको बताए । त्यस्तै कलाकार निर्मल शर्माले चलचित्रले आफ्नो मलाई सानो बेलामा पुर्याएको भन्दै चलचित्रको प्रशंसा गरे ।
त्यस्तै गायिका आनी छोइङ डोल्माले फिल्म असाध्यै सुन्दर रहेको प्रतिक्रिया दिए । उनले नेपाली सामाजिक इतिहासको दस्ताबेजका रुपमा फिल्मलाई चित्रण गरे । उनले चलचित्रमा नारीले जीवनमा गर्नुपरेका सम्झौतालाई यथार्थ वर्णन गरिएको बताए । त्यस्तै अभिनेता एवं गायक प्रकाश सपुतले बाल्यकालको जीवनमा आफूले भोगेको यथार्थता चलचित्रमा झल्किएको बताए । आफूले चलचित्रमा हरेक भाग आफूले भोगेको रहेको भन्दै एकपटक हेर्नैपर्ने चलचित्र रहेको बताए । त्यस्तै अभिनेत्री केकी अधिकारीले फिल्म रहर सपनाको कथा भएको बताए ।
उनले सामाजिक परिबन्धनका कारण छोड्नुपरेका सपनाहरू फिल्ममा रहेको र अभिनय जीवन्त लाग्ने बताए । उनले यस्ता चलचित्र हेर्नैपर्ने किसिमको रहेको बताए । त्यस्तै अभिनेत्री शिरु बिष्टले बाल कलाकारलाई राखेर काम गर्दा धेरै मिहेनत गरेर काम गरेको बताए । उनले बाल कलाकारहरूको अभिनयका कारण आफ्नो अभिनय पनि उचाइमा पुगेको बताए ।
सुजित बिडारीको लेखन एवं निर्देशन रहेको फिल्ममा कञ्चन चिमरिया, शिरु बिष्ट, दिनेश खत्री, अशोक शिवाकोटी, क्षितिज लिम्बू, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ, विशा चाम्लिङ राई, राज थापा, पदमप्रसाद पौडेललगायतका कलाकारहरूको अभिनय छ । चलचित्र आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । सिनेमालाई आकाश पौडेल, प्रविण स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । संखुवासभामा त्यहीँकै स्थानीय कलाकारलाई लिएर बनाइएको फिल्मले उच्च शिक्षा लिन चाहने किशोरी सपनालाई शिशाको झ्यालमा अड्किएको पुतलीको विम्व सादृश्य वर्णन गरेको छ ।