चेपाङ समुदायले मनाए न्वागी, बागमती प्रदेशमा आज सार्वजनिक विदा «

चेपाङ समुदायले मनाए न्वागी, बागमती प्रदेशमा आज सार्वजनिक विदा

प्रकृति पूजक मानिने सिमान्तकृत अदिवासी चेपाङ समुदायले आफ्नो महत्वपूर्ण पर्व न्वागी (छोनाम पर्व) धुमधामले मनाएका छन् । हरेक वर्षको भदौ तेस्रो साता सोमबार वा शुक्रबारको दिन प्रकृतिको पूजा गर्दै नया“ फलेका दैनिक उपभोगमा आउने तरकारीदेखि गिट्ठा भ्याकुरहरु आफ्ना इष्ट देउतालाई चढाएर चेपाङ समुदायले न्वागी पर्व मनाउने गर्दछन् ।
यस दिन चेपाङ समुदायका प्र्रत्येक घरमा रातभर एकपाखे ढ्याङ्ग्रो ठोक्ने र देवीदेवता मनाउने चलन छ । नयाँ फलेका अन्न तथा फलफूल तरकारी न्वागीकै दिन चेपाङका पण्डित पाण्डेमार्फत देवी देवतालाई चढाएपछि मात्र उनीहरुले खान सुरु गर्ने गर्दछन् । वर्षायाममा फल्ने काँक्रो, करेला, गाभा, निबुवा, कागतीलगायतका तरकारी तथा फलफूल चेपाङ समुदायले न्वागीमा देवतालाई चढाएपछि मात्र खान सुरु गर्छन् । साथै उनीहरुले गिट्ठा, भ्याकुरका लहरा तथा फूल, कुरिलो, उखु, विभिन्न जडिबुटीका बोटहरु पनि खोजेर देउतालाई चढाउने गर्दछन् । हरेक वर्ष भदौ २२ गतेका दिन न्वागी (छोनाम) पर्व मनाउने चलन छ ।
यसवर्षको न्वागी पर्व मकवानपुरको विकट राक्सिराङ गाउँपालिका ७ स्थित दामराङमा मनाइएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, चेपाङ बाहुल्य रहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललगायतको उपस्थितमा दामराङमा सोमबार न्वागी पर्व मनाइएको हो ।
घरमा नयाँ अन्न भित्रिएको खुसियालीमा मनाइने छोनाम (न्वागी) पर्व चेपाङ समुदायले मात्र मनाउने एक सांस्कृतिक पर्व भएको चेपाङ समुदयबाट पहिलो पटक मन्त्री बनेका सन्तबहादुरले बताए । उनीहरुले ढुङ्गा, माटो, रुख, पानी, घाम आदि प्राकृतिक वस्तुहरुलाई न्वागीका दिन विशेष रुपमा पूजा गरी नया“ फलाहार चढाउने गर्छन् ।
चेपाङ समुदायले न्वागी पर्वमा आफूले उब्जाएको अन्नले वर्षभरि खान पुगोस् भनेर कामना गर्दै रातभर मन्त्र पाठ गर्ने गर्दछन् साथै आफ्नो समुदायलाई विभिन्न रोगब्याधी, प्राकृतिक प्रकोपलगायत कुनै विपति नआओस् भनी झाँक्रीले देवी देवता मनउने गर्दछन् । न्वागीमा आफन्तहरु जम्मा भएर पूजा गर्ने, ढ्यांग्रो बजाउने, आपसमा खुसीयाली साटासाट गरी मनाउने गरिएको राज्यमन्त्री सन्तबहादुर चेपाङ बताउँछन् । न्वागीलाई चेपाङ जातिले सबैभन्दा ठूलो पर्वका रुपमा मनाउँछन् । दसैं, तिहार लगायतका पर्व पनि मनाउने चेपाङ जातिले भुँयार, वायु पूजा गर्छन् ।
चेपाङ समुदायको न्वागी पर्वको अवसरमा यस वर्षबाट बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिन सुरु गरेको छ । छोनाम पर्वको अवसरमा प्रदेशको आन्तरिक मामिला मन्त्रालयले एक सूचना जारी गर्दै आज बुधबार सार्वजनिक विदाको घोषणा गरेको छ । बागमती प्रदेशको मकवानपुर, धादिङ र चितवन जिल्लामा चेपाङ समुदायको मुख्य बसोबास रहेको छ । अति सिमान्तकृत पिछडिएको समुदायको रुपमा सूचितकृत चेपाङ जातिको जनसंख्या करिब ८० हजारको हाराहारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्