मेची राजमार्ग लथालिंग

पूर्वी पहाडी जिल्लाको भविष्यसँग जोडिएको मेची राजमार्ग यात्रुलाई सहज होइन, त्रास बनेको छ । कारण हो– उच्च जोखिम । मेची राजमार्गमा बढेको जोखिमका कारण यात्रुलाई समस्या भएको छ । यात्रामा बढी समय लाग्ने मात्र हैन, डाँडा र गहिरो परेको सडकले जिउ नै दुख्ने समस्या हुने गरेको छ । अझ मेची राजमार्गको माईखोला नजिकैको एक खण्ड भने उच्च जोखिम छ । तर सोही सडक प्रयोग गर्नुपर्ने बाध्यता छ । अन्य सडक नहुँदा सोही सडक प्रयोग गर्नुको विकल्प छैन ।
यस सडक खण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । अव्यवस्थित सडक भएकै कारण यात्रुले हैरानी ब्यहोर्नु परिरहेको छ । वर्षौंदेखिको समस्या कसैले समाधान गर्न सकिरहेका छैनन् । झापाको चारआलीदेखि इलाम, पाँचथर, ताप्लेजुङसम्म जोड्ने मेची राजमार्ग अन्तर्गत इलाम खण्डको करिब ९० किलोमिटर सडक जिर्ण बन्दै जाँदा सवारी दुर्घटना बढ्दै गएको छ ।
सदरमुकामबाट नजिकै रहेको माईखोलादेखि माथिको सडक खण्ड भासिएको छ । भौगोलिक रुपमा कमसल भूभाग, उकालो एवं घुमाउरो बाटोका कारण उक्त क्षेत्र दबिएको हो । सो क्षेत्रमा दुर्घटना धेरै हुने गरेको छ । सडक डिभिजन कार्यालयले सो सडकको स्तरोन्नतिका लागि निकै पटक प्रयास नगरेको हैन । विभिन्न प्रविधिमार्फत सडक निर्माण गर्दा पनि सडक भासिने क्रम नरोकिएपछि पनि यसको वैकल्पिक सडकको व्यवस्था गर्न सकिएको छैन । सो सडकको वैकल्पिक व्यवस्था गर्न तिल्केनीबाट गोदकको सडकको केही भाग स्तरोन्नति र केही स्थानमा नयाँ सडक खोलेर वैकल्पिक व्यवस्था गर्न सके दूरीसमेत निकै घट्ने देखिन्छ । तर यसतर्फ कसैले वास्ता गरेको छैन ।
सडकमा दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले केही स्थानमा सांकेतिक बोर्डहरु राखेको छ । तर सडक नै लथालिंग बनेपछि जोखिम उस्तै छ । गएको १७ असारमा मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका वडा नम्बर १ मिलगोलाईमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका थिए । गएको माघ महिनामा मेची राजमार्गकै रोङ गाउँपालिका–४ पहिरो भन्ने स्थानमा पिकअप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो । अन्य एक जना गम्भिर घाइते भएका थिए । झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १ ०१ ००१ नम्बरको पिकअप आफैं अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल झरेर दुर्घटना भएको थियो ।
त्यसैगरी गएको मंसिर २८ गते हर्कटे–फिक्कल सडक खण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । यस दुर्घटनाबाट अन्य ९ जना यात्रु घाइते भए । हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा दुर्घटना भएको थियो । यसबीचमा सानातिना दुर्घटना धेरै भए । दैनिकजसो नै मोटर साइकलदेखि ठूला सवारी समेत दुर्घटनामा परिरहेका छन् ।
साँघुरो सडक भएकै कारण धेरै दुर्घटना हुन्छन् । अझ सडकका दायाँबायाँ किनारमा निर्माण सामग्री तथा गोलिया लगायतका सामग्री थुपारिँदा सडक अझ साँघुरिन्छ र दुर्घटना बढ्ने गरेको छ । प्रायजसो बिरामी बोकेर आवतजावत गर्ने एम्बुलेन्सलाई बढी समस्या हुने गरेको छ । हस्पिटल जान बढी समय लागेकै कारण कहिले बिरामीको ज्यानै समेत जानसक्ने भएकाले पनि सो सडकको स्तरोन्नति गर्न आवश्यक छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ अर्थात एक वर्षको अवधिमा यसै राजमार्गमा सानाठूला गरी १८ वटा दुर्घटना भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामको जानकारी अनुसार उक्त अवधिमा १० जनाले ज्यान गुमाए भने १८ जना घाइते भएका छन् । दुर्घटनाको मुख्य कारण भत्किएको कालोपत्रे सडक, साँघुरो सडक र प्रतिकूल मौसम, अव्यवस्थित पार्किङ आदि भए पनि सवारी चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, तिव्र गति, सवारीको ब्रेक फेल लगायतका कारण पनि दुर्घटना हुने गरेको छ ।
मेची राजमार्गको जम्मा २६८ किमी मध्ये चारआलीदेखि ताप्लेजुङको सुकेटार विमानस्थलसम्म कालोपत्र भइसकेको छ । तर कालोपत्रे भत्किएर सडकका बिच–बिचमा ठूला–ठूला खाल्डो पर्दा पनि मर्मतमा कसैले चासो दिइएको पाइँदैन । प्रत्येक दिन हजारौंको संख्यामा सवारी आवत–जावत हुने राष्ट्रिय गौरवको यस सडक जिर्ण बन्दा समेत सरोकारवाला निकाय मौन रहेको सवारी चालक तथा स्थानीयको गुनासो छ ।
हुन त सडक डिभिजन कार्यालय इलामले सूर्योदय नगरपालिकाको समन्वयमा सडकको चौडा दायाँ बायाँ पन्ध्र मिटरमा निर्माण भएका संरचना हटाउने काम यसअघि नगरेको होइन । सडक डिभिजन कार्यालय इलाम र नापी कार्यालयका प्राविधिकको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पालटाँगेसम्म चार किलोमिटर क्षेत्रमा सडकको दायाँ बायाँ १५ मिटर क्षेत्रको नक्सांकन गर्ने काम पनि भयो । पर्यटकीय क्षेत्र कन्यामको सुन्दरतामा नयाँ रौनक थप्नका लागि पहिलो चरणमा नै मेची राजमार्ग क्षेत्रमा सडक विस्तार गर्न सुरु गरिएको थियो । पछिल्लो समय सो कार्य पुन: हुन सकेन । साँघुरो सडक किनारमा निर्माण गरिएका संरचना पूर्ण रुपमा नहट्दा वा निर्माण हुँदा अनुगमन गर्ने निकाय मौन जस्तो बसेको स्थानीयको भनाइ छ ।
यसरी सवारी दुर्घटनाका जोखिम बड्दै जाँदा ट्राफिक प्रहरीलाई व्यवस्थापनमा समस्या बनेको छ । इलाममा ट्राफिक प्रहरीको संख्या पनि कम भएकाले पनि समस्या भएको हो । हाल इलाममा १९ जना ट्राफिक प्रहरीले सेवा दिइरहेका छन् । यस सडकले इलाममात्र नभई ताप्लेजुङ, पाँचथर, तेह्रथुम लगायत पूर्वी पहाडी जिल्लामा पुलको काम गरिरहेकोले सडकको स्तरोन्नति गर्न यस क्षेत्रका जनताले माग गर्दै आएका छन् ।