गौरा पर्व मनाउनुको सार्थकता «

गौरा पर्व मनाउनुको सार्थकता

हामी हिन्दू धर्मावलम्बीहरूको जीवनमा जसरी दसैं, तिहार, तीजजस्ता पर्वको महŒव बढी हुन्छ, त्यसरी नै सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वलाई लिने गरिन्छ । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो, जसलाई दसैं, तिहारभन्दा पनि धूमधामसँग मनाउने गरिन्छ । गौरा पर्वको व्रत बसेमा पतिको दीर्घायुका साथै सुखी जीवन प्राप्त हुने जनविश्वास रहिआएको छ । गौरा पर्वमा भाद्र कृष्ण षष्ठीदेखि अष्टमीसम्म व्रत बस्ने परम्परा प्राचीनकालदेखि नै चलिआएको छ । प्राचीन कालमा राजाहरूले ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ हेतु निराहार रही व्रत बसेको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र प्राप्त गरेकी थिइन् र सोही पुत्रको तेजले राजाको अाँखाको ज्योति गुमेर अन्धो भई माफी माग्नुपरेकाले ब्राह्मणी अर्थात् गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो भन्ने मान्यता रहेको छ । यही विश्वासले अष्टमीसम्म महिलाहरू गौराको व्रत बस्ने गरेका छन् ।
वैदिक विधिअनुसार गौरा माताको व्रत बसी पूजापाठ गरेमा सन्तान, सौभाग्य प्राप्ति, सुख, दीर्घायु प्राप्त हुने, लामो समयदेखि बिछोड भएकाबीच मिलन गराउने, आपसी भाइचाराको सम्बन्ध बढाउने, पतिपत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने जस्ता मान्यता रहेकाले मानिसहरू निकै आस्थाका साथ उक्त पर्व मनाउने गर्छन् । त्यसैले पर्व मनाउने अवसर पारेर भए पनि देशविदेशमा भएका आफन्तहरू उक्त समयमा घर आउने गर्छन्, जसले परम्परालाई नियमितता दिन्छ भने मानिसहरूको आस्थालाई सार्थकता दिने गर्छ । यस वर्ष भने गौरा पर्व भदौ १८ गते शनिबार परेको हुनाले सबैले त्यस दिन आनन्दले पर्व मनाउने अवसर पाएका थियौं । षष्ठीबाट सुरु भएको गौरा पर्व अष्टमीको दिन झनै विशेष रूपमा मनाउने गरिन्छ । त्यसैले अष्टमीको दिनलाई नै मुख्य मानिन्छ ।
गौरा पर्व विशेष गरेर महिलाहरूले मनाउने पर्व हो । तर, आजभोलि पुरुषहरूको पनि उत्तिकै सहभागिता रहेको पाइन्छ । यो पर्वमा गौरा (पार्वती) र महादेव (शिव) को पूजा गर्ने गरिन्छ । गौरा पर्वको पहिलो दिन दलहन वस्तुको बिरुडा (चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ) भिजाउने चलन छ । बिरुडालाई पञ्चाखिरी शिवमन्त्रको प्रतीक मानिन्छ । बिरुडा भिजाएर सुरु हुने पर्वको दोस्रो दिन गेडागुडीलाई नजिकैको नदी, पोखरी वा धारामा धुने गरिन्छ र महिलाहरूले खेतमा गएर धान, बलु, कुश, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपामार्ग गरी नौ प्रकारका बिरुवालाई गौराको रूपमा भिœयाउने चलन छ । अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाई देवीको पूजा गर्ने परम्परा रहेको छ । सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महŒव रहेको छ । आयुर्वेदको दृष्टिकोणले महŒवपूर्ण यी बिरुवालाई नवदुर्गाको प्रतीकका रूपमा लिने गरिन्छ, जसलाई गौरा भनिन्छ । त्यस्तै गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको सम्मिश्रणलाई बिरुडा भन्ने गरिन्छ । व्रतालु महिलाले डालोमा राखेर फाग गीत गाउने, नाच्ने र नचाउने चलन छ । उनीहरूले सप्तमीका दिन गौरालाई गौरा घरमा भिœयाई पूजापाठ गर्ने गर्छन् । विधि–विधानअनुसार अष्टमीका दिन गौरा सेलाएर देउडा र धमारी खेल्ने गरिन्छ ।
देउडा गीतको माध्यमबाट एकअर्काको दु:ख, सुख बाँड्नुका साथै माया, प्रेम पनि बाँड्ने गरिन्छ । साथै महिला र पुरुषको छुट्टाछुट्टै गोलो घेरा बनाएर देउडा खेलिन्छ । देउडामा फाग, चैत, धमारी गाउने चलन रहे पनि अचेल समसामायिक विषयवस्तुमा आधारित व्यंग्यात्मक गीत गाएर रमाइलो गर्ने चलन पनि छ । युवा पुस्ताले मायाप्रेममा आधारित गीत गाएर पनि देउडामा खेल्ने गर्छन् । त्यस्तै अहिलेको आधुनिक प्रविधिसँगे सामाजिक सञ्जालभरि नै देउडा खेलेको, नाचगान, रमाइलो गरी पर्व मनाएका तस्बिर तथा भिडियोहरू देख्न सकिन्छ, जसले हाम्रो देशको कला–संस्कृतिलाई झल्काउने गर्छ ।
—रन्जिता गिरी पोख्रेल

प्रतिक्रिया दिनुहोस्