दक्ष कामदार नपाएको इटा उद्योगको गुनासो «

दक्ष कामदार नपाएको इटा उद्योगको गुनासो

तीन लाख जनालाई प्रत्यक्ष रोजगार दिएको इटा उद्योगका लागि दक्ष कामदार पाउन नसकेको नेपाल इटा उद्योग उद्योग महासंघले जनाएको छ ।
महासंघले ९५ प्रतिशत दक्ष कामदार भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको जनाएको छ । सोमबार धनगढीमा महासंघको १४ औं वार्षिक साधारण सभामा अध्यक्ष शंकरबहादुर चन्दले महासंघले नै इटा उद्योगका लागि दक्ष नेपाली कामदार उत्पादन गर्ने गरी कार्यक्रम ल्याइरहेको बताए । उनले सिटिईभिटीबाट पाठ्यक्रम स्वीकृत गराएर ब्रिक फायरिङ मास्टर सम्बन्धि तालिम अध्यापनको तयारी गरिएको बताए ।
उनले आउँदो दुई वर्षमा प्रत्येक उद्योगमा नेपाली दक्ष कामदार रहने गरी जनशक्ति उत्पादन गरिने बताए । “अहिले ५ प्रतिशत मात्रै नेपाली काम रहेका इटा उद्योगमा दुई वर्षपछि ९५ प्रतिशत नेपाली कामदारबाट इटा उद्योग सञ्चालन गर्ने गरी तालिम सञ्चालन गर्ने छौं,” अध्यक्ष चन्दले भने, “सिटिईभिटीको पाठ्यक्रममा महासंघले नै तालिम सञ्चालन गर्ने छ ।”
महासंघले कन्ट्रक्सन होलीडेको कारण इटा बिक्री नभएको र बैंकहरुले ऋण प्रवाह नगर्दा यस वर्ष उद्योगहरुले उत्पादन गर्न नसकेको जनाएका छन् । अध्यक्ष चन्दले उद्योगहरुले इटा बिक्री नभएको र बैंकबाट लगानी नपाएको कारण अहिले ७० प्रतिशत इटा उद्योगहरु बन्द अवस्थामा रहेको बताए । उनले सरकारले भौतिक पूर्वाधारमा लगानी नगरेको, निर्माण भइरहेको आयोजनाको गति तीव्रता नभएकाले देशभरका आठ सय इटा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले इटा उद्योगमा देखिएका समस्या समाधानका लागि सरकारले पहल गर्ने बताए । कार्यक्रममा महासंघले विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्