यती एअरलाइन्सले थप्यो एटीआर ७२–५०० विमान «

यती एअरलाइन्सले थप्यो एटीआर ७२–५०० विमान

यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटीआर ७२–५०० विमान थप गरेको छ । यतीको यो छैठौँ विमान हो ।
नयाँ विमान सोमबार दिउँसो १५:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रियय विमानस्थल काठमाडौंमा अवतरण गरेको कम्पनीले जनाएको छ । यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाइ सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
एमएसएन नं. ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमानभन्दा पछिल्लो विमान भएको कम्पनिले दाबी गरेको छ । एटीआर विमानको जम्मा साइकल ७० हजार हुन्छ ।
एक अवतरणलाई एक साइकल गणना गरिन्छ। विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रवक्ता बर्तौलाले जानकारी दिए । यही आर्थिक वर्षभित्र अर्को एक विमान थप गर्ने र त्यसपछि नयाँ गन्तव्यहरुमा सेवा विस्तार गर्ने उनले बताए । विमान थप भएपछि ५ वटा विमानलाई आधार बनाई उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
एटीआर ७२–५०० टर्बोप्रप विमानको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७० सिटको क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पीडब्ल्यू१२७ इन्जिनद्वारा सञ्चालित एटीआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ ।
अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुनेछ । यो विमानले नयाँ पुस्ताका जेटहरूभन्दा प्रति यात्रु–किमिमा लगभग ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्दछ र पुराना विमानहरूभन्दा तीन गुणा कम कार्बन उत्सर्जन गर्दछ ।
यती एअरलाइन्स दक्षिण एसियामा पहिलो कार्बनन्युट्रल एयरलाइन्स हो । यतीले हाल नेपालको सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रियतर्फ चार्टर्ड र नन सेड्युल उडान गर्ने अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्