खुकुरी रमको प्रायोजनमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’को प्रिमियर शो

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ को काठमाडौँमा प्रिमियर शो सम्पन्न भएको छ ।
खुकुरी रम प्रिमियर शोको प्रायोजक रहेको थियो । खुकुरी रमकै प्रायोजकत्वमा यो फिल्मको थप प्रिमियर शो पोखरामा सोमबार हुँदै छ भने धरानमा आगामी बुधबार गर्ने कार्यक्रम छ ।
‘गोर्खा : बिनिथ द ब्रेभरी’ च्यारिटी मुभी हो। यो मुभीको शोहरुबाट प्राप्त आम्दानी गोर्खा वेलफेयर ट्रस्टलाई प्रदान गरिने यसअघि नै घोषणा भइसकेको निर्माण पक्षले जानकारी दिएको छ । खुकुरी रम प्रमोसनल पार्टनरको रुपमा रहेको यो फिल्म २४ भदौदेखि प्रदर्शनमा आउनेछ ।
यो चलचित्रमा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाइते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । यही कथा चलचित्रमा देख्न पाइन्छ ।
काठमाडौको विशेष शोमा उपस्थित निर्देशक प्रदीप शाहीले आफ्नो कथा आफैँले भन्ने कोशिस गरेको बताए । जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको उनको भनाइ थियो ।
चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ। फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् ।