प्रदेश कोषाध्यक्षको भेला सम्पन्न «

प्रदेश कोषाध्यक्षको भेला सम्पन्न

नेपाल पत्रकार महासंघ, केन्द्रीय लेखासमितिको आयोजनामा नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्षको भेला तथा अन्तरक्रिया आयोजना गरेको छ । नेपाल पत्रकार महासंघका प्रदेश समिति र शाखामा आर्थिक सुशासन र पारदर्शिता कायम राख्न भेला आयोजना गरिएको महासंघ लेखासमिति संयोजक लेखनाथ न्यौपानेले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले संगठनलाई चुस्त दुरुस्त ढंगले सञ्चालन गर्न कोषाध्यक्षको महत्वपूर्ण भूमिका रहने बताए । विधानले दिएको परिधिमा रहेर कार्य सम्पादन गरे महासंघको चौतर्फी विकासमा सहयोग पुग्ने अध्यक्ष पोख्रेलले बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोषाध्यक्षको भूमिका संस्थाको आर्थिक पक्षसंग जोडिएको भन्दै आर्थिक गतिविधिलाई पारदर्शी ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, महासचिव रोसन पुरीले महासंघको आर्थिक गतिविधिका विषयमा टिकाटिप्णी हुने गरेको भन्दै आर्थिक पारदर्शिता र सुशासन कायम गर्नुपर्नेमा जोड दिए । उनले महासंघको लेखा समितिलाई थप बलियो बनाउन आवश्यक रहेको बताए ।
कोषाध्यक्ष कलेन्द्र सेजुवालले महासंघको कोष व्यवस्थापन र प्रदेश कोषाध्यक्षको जिम्मेवारीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । लेखासमिति संयोजक लेखनाथ न्यौपानेले महासंघको आर्थिक पारदर्शिताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका दशवटै प्रदेश समितिका कोषाध्यक्षहरुले प्रदेश समितिमा भइरहेको कोष व्यवस्थापन र जिम्मेवारीमा रहदा भोग्नुपरेका समस्याकाबारे रिपोर्टिङ गरेका थिए । भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्र यसैसाथ संलग्न रहेको छ ।

प्रतिक्रिया दिनुहोस्