माथिल्लो मुस्ताङमा बढे पर्यटक

केही समयअघि आएको एक समाचार अनुसार लगभग एक वर्षमा समग्रमा मुस्ताङ जिल्लामा झन्डै ३९ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । त्यसमध्ये पनि १ हजार ५ सय ६६ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेको भन्ने समाचारमा जनाइएको छ, जुन कुरो हाम्रा लागि धेरै खुसीको कुरो हो । किनभने माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक निश्चय नै केही गुणस्तरीय र खर्चिला हुन्छन् । माथिल्लो मुस्ताङ भ्रमणका लागि विदेशी पर्यटकले नेपाल सरकारलाई सलामी दस्तुर मात्रै एक जना बराबर ५ सय अमेरिकी डलर तिर्नुपर्छ । यो १० दिनका लागि हो । त्योभन्दा बढी दिन बस्नुपरेमा कारण खुलाएर अरू दुई दिनको थप सलामी दस्तुर तिरेर विदेशी पर्यटकहरू माथिल्लो मुस्ताङमा बस्न सक्छन् । यसरी कुनै पनि विदेशी पर्यटक १२ दिनभन्दा बढी कानुनी रूपमा माथिल्लो मुस्ताङमा बस्न, घुम्न पाउँदैनन् ।
कोभिड–१९ ले ल्याएको महामारीले गर्दा विश्व पर्यटन नै धरमरमा रहेको यो बेला माथिल्लो मुस्ताङमा १ हजार ५ सय ६६ जना विदेशी पर्यटकले भ्रमण गर्नु भनेको सकारात्मक संकेत हो । यसले स्थानीय बासिन्दाको आम्दानीमा पनि केही भरथेग हुन्छ । नेपाली गाइड र भरियाले रोजगारी पाउने कुरो त भइ नै हाल्यो भने सरकारले सलामी दस्तुर पाउने त छँदै छ । त्यसैले कोभिड–१९ को चौथो लहर यत्तिमै चाँडै रोकिएमा आगामी वर्ष सजिलैसँग २३¬–२४ सय विदेशी पर्यटक सजिलैसँग माथिल्लो मुस्ताङ भ्रमण गराउन सक्ने देखिन्छ । तर, कोभिड–१९ को पैmलावट रोक्न सक्ने तागत हामीसँग नभएकाले गर्दा कामना गर्ने, चाहने गर्ने मात्रै हो ।
जे होस्, २०४७ मा तत्कालीन सरकारले निश्चित सर्तहरूसहित माथिल्लो मुस्ताङ अर्थात् अप्पर मुस्ताङमा विदेशीहरूले पर्यटकीय उद्देश्यले भ्रमण गर्न पाउने गरी खुला गर्यो । जस्तै माथिल्लो मुस्ताङको भ्रमणमा जान चाहने पर्यटकहरू कम्तीमा दुई जना हुनैपर्ने, सरकारमा दर्ता भएको टे«किङ एजेन्सीमार्फत मात्रै जान पाउने, एक जना सरकारी सम्पर्क अधिकृत अनिवार्य रूपमा लानैपर्ने (हाल खारेज भइसकेको छ), १० दिनमा ट्रेकिङ सक्नैपर्ने (आधार खुलाएर थप दुई दिन थप्न सकिने), एक जना पर्यटक बराबर ७० डलर सरकारलाई राजस्व तिर्नुपर्ने, वर्षमा १ हजारभन्दा बढी पर्यटक जान नपाउने, कुनै पनि पर्यटकले स्थानीय समुदायलाई सीधै आर्थिक सहयोगलगायत अन्य सहयोग दिन नपाउने, दिनैपरे प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्ने आदि सर्तहरूसहित विदेशी पर्यटकलाई भ्रमण गर्न खुला गरिएको थियो ।
केही हिमाली क्षेत्रझैं निषेध गरिएको माथिल्लो मुस्ताङ विदेशी पर्यटकहरूका लागि खुला भएपछि पहिलो वर्ष (सन् १९९२ मा) ४ सय ८३ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा ४ अंक पुग्यो । अर्थात् उक्त वर्ष १ हजार ६६ जना विदेशी पर्यटकहरूले माथिल्लो मुस्ताङको भ्रमण गरे । तर दुर्भाग्य, यो क्रम लामो समयसम्म जारी रहन सकेन । सन् १९९९ मा १ हजार ५७ जनाले भ्रमण गरे । त्यसपछि देशमा चलेको हिंसा–प्रतिहिंसा (सरकार–तत्कालीन विद्रोही माओवादीबीच) सँगै मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकको संख्या पनि घट्न थाल्यो । यसरी सन् २००० देखि पुन: माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या तीन अंकमा झर्यो । यो क्रम सन् २००६ सम्म जारी रह्यो । २०६२/०६३ मा आएको परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पनि बढेर सन् २००७ देखि पुन: चार अंकमा चढ्यो । अर्थात् सन् २००७ मा १ हजार १ सय ५७ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । सन् २००८ मा त स्थानीयवासीहरू नै आश्चर्य चकित हुने गरी विदेशी पर्यटकहरू माथिल्लो मुस्ताङको भ्रमणमा आए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै २ हजार १ सय ९४ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरे । भौगोलिक हिसाबले तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तै–उस्तै छ । त्यतिमात्रै होइन, उनीहरूबीच धर्म, भाषा, वेशभूषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दोजुल्दो छ भने पशुपालनजस्तै घोडा, याक, चौंरी, भेडा, च्याङ्ग्रा पाल्ने तरिका उही, खेती गर्ने तरिका उही । अझ माथिल्लो मुस्ताङको तिब्बतभन्दा पृथक् पहिचान के छ भने माथिल्लो मुस्ताङका विभिन्न स्थानमा प्राचीन गुफाहरू प्रशस्तै छन् ।