Logo

उद्योग वाणिज्य क्षेत्रको लगानीबारे सरकारी निकाय बेखबर

दर्ता नगरी उद्योग व्यापार तथा व्यवसाय गर्न कडा गरेपछि उद्योग तथा वाणिज्य क्षेत्रमा उद्योग तथा वाणिज्यसँग सम्बन्धित फर्म दर्ता गर्ने क्रम बढेको छ ।
तर जिल्लामा दर्ता भएका उद्योग तथा वाणिज्य सम्बन्धी फर्ममा कति लगानी छ भन्ने तथ्यांक दर्ता गर्ने कार्यालय घरेलु तथा साना उद्योग कार्यालय धादिङसँग छैन । कार्यालय प्रमुख मेघनाथ गौतमका अनुसार अहिलेसम्मको लगानी कति छ भन्ने तथ्यांक एकीकृत रुपमा भन्न सक्ने अवस्था छैन । हरेक वर्ष दर्ता नवीकरणको तथ्यांक राख्ने प्रचलन छ ।
एकीकृत तथ्यांक राख्ने प्रणाली नहुँदा कति उद्योग तथा वाणिज्य फर्महरु सञ्चालनमा छन् भन्ने पनि अद्यावधिक तथ्यांक छैन । एकल उद्योग तथा फर्म दर्ता गरेको पाँच वर्षसम्म नविकरण गर्न नपर्ने कानूनी व्यवस्था छ । छैटौ वर्षसम्म फर्म सञ्चालक नै कहाँ पुगिसकेको हुन्छन् पत्तो हुँदैन । साझेदारी उद्योग तथा फर्म हरेक वर्ष नविकरण गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख गौतमले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय धादिङमा आर्थिक वर्ष २०७८/०७९ मा दर्ता र नविकरण शुल्कबापत दुई करोड २७ लाख ४५ हजार पाँच सय दुई रुपैयाँ राजस्व संकलन गरेको छ । उद्योगतर्फ पाँच सय ७९ वटा उद्योग दर्ता र छ सय ८८ वटा उद्योग नवकिरण हुँदा एक करोड ११ लाख ७३ हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको छ । उद्योगतर्फ पाँच सय ७९ वटा उद्योगको पुँजी एक अर्ब सात करोड ४४ लाख लगानी रहेको कार्यालय प्रमुख गौतमले बताए ।
वाणिज्यतर्फ भने दुई सय ९३ वटा फर्म दर्ता र ७४१ वटा फर्म नविकरण गर्दा एक करोड १५ लाख ७१ हजार सात सय दुई रुपैयाँ राजस्व संकलन गरेको छ । प्रादेशिक व्यवसाय तथा व्यापार सम्वन्धी ऐन २०७६ र प्रदेश औद्योगिक ऐन २०७६ ले पाँच लाखसम्मको पुँजी भएको उद्योग तथा व्यवासय फर्म स्थानीय तहमै दर्ता गर्ने व्यवस्था गरेको छ । पाँच लाख भन्दामाथि पाँच करोड पुँजीका उद्योग तथा वाणिज्य फर्म घरेल तथा साना उद्योग कार्यालयमा दर्ता गर्ने कानूनी व्यवस्था रहेको कार्यालय प्रमुख गौतमले बताए ।
धादिङ उद्योग वाणिज्य संघमा एक हजार आठ सय फर्म, कम्पनी र संस्थाह आवद्ध छन् । ती मध्ये करिव एक हजार चार सय फर्म घरेल तथा साना उद्योग कार्यालयमा दर्ता भएका फर्महरु उद्योग वाणिज्य संघमा दर्ता भएका छन् । कति उद्योग तथा वाणिज्य फर्महरु सञ्चालनमा छन् र कति पुँजी लगानी छ भन्ने एकिन तथ्यांक नहुँदा जिल्लाको अवस्था थाहा पाउन कठिन भएको धादिङ उद्योग वाणिज्य संघ प्रमुख रोहित भण्डारीले बताए ।
अझ रोचक कुरा त कयौ फर्महरु पाँच वर्षपछि दर्ता गर्नै आउँदैनन् । ती फर्मवाला दर्ता गर्न नआउनुको कारण अनुदान लक्षित उद्योग तथा फर्म दर्ता गर्नु हो । अनुदान पाए लिइहाल्ने अनुदान नपाए नविकरण गर्न नआउने भएकाले हरेका वर्ष उद्योग तथा वाणिज्य फर्म दर्ता धेरै देखिएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्