पोखराका ३२ स्थानमा ७२ वटा शौचालय सर्वसाधारणका लागि खुला हुने «

पोखराका ३२ स्थानमा ७२ वटा शौचालय सर्वसाधारणका लागि खुला हुने

पोखरा महानगरपालिकाले पोखरा क्षेत्रमा ३२ स्थानमा ७२ वटा शौचालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ । निजी साझेदारीमा उक्त संख्यामा सार्वजनिक शौचालय सञ्चालन गर्ने कार्य सुरु भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।
सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिने गरी महानगरले गरेको सार्वजनिक आह्वानमा सहभागी ३२ इच्छुक व्यक्ति तथा संस्थाहरूले आफ्नो शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न दिने प्रतिबद्धता महानगरसँग जनाएको महानगरले उल्लेख गरेको छ ।
यसैबीच, बिहीबार एक समारोहका बीच सिटी स्क्वायर प्रालिबाट निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरिएको छ । सो अवसरमा बोल्दै मेयर आचार्यले पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरिएको जनाउँदै यसको सङ्ख्या १०० पुर्याइने दाबी गरे । उनले भने, ‘हामीले सर्वसाधारणका लागि शौचालय उपयोगका सन्दर्भमा विभिन्न बैक तथा वित्तीय संस्था र व्यक्तिहरूसँग पनि कुराकानी गरिरहेका छौँ, यसको संख््या १०० पुर्‍याइने हाम्रो लक्ष्य हो ।’ एक वर्षभित्रमा महानगरका मुख्य–मुख्य चोक र सार्वजनिक स्थलहरूमा सार्वजनिक शौचालय निर्माण गरिने मेयर आचार्यले बताए । उक्त अभियानले पोखराको बजार आउने सर्वसाधारणका लागि अप्ठ्यारो परिस्थितिमा निकै राहत प्रदान गर्ने उहाँले विश्वास व्यक्त गरे ।
उनले थपे, ‘सहरभित्र सार्वजनिक शौचालय नभएको ठाउँमा, यदि खल्तीमा पैसा छैन भने, कुनै रेस्टुराँमा पसेर खान सक्ने अवस्था छैन भने, र कहीँ पनि शौच गर्न नसक्ने अवस्था छ भने, हामीलाई महसुस भयो त्यसको अन्त्य गर्न हामीले यो अभियान सुरु गरेका हौं ।’
यसको डिजाइनसमेत तयार गरेर निर्माणको प्रक्रिया थालनी गर्ने अवस्थामा महानगरपालिका रहेको मेयर आचार्यले जनाए । एक वर्ष भित्रमा कम्तीमा पनि ३३ स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने उनले दाबी गरे । विगतमा महानगरपालिकाले निर्माण गरेका शौचालयहरूको समेत मर्मत सम्भार गरी तिनीहरूलाई प्रयोगमा ल्याइने मेयर आचार्यले बताए । कार्यपालिकाको बैठकले यो वर्षभित्रमा महानगरका सबै वडाहरूमा र बजारका मुख्य–मुख्य चोकहरूमा सार्वजनिक शौचालय बनाउने भनेर निर्णय गरेको मेयर आचार्यले बताए ।
सिटी स्क्वायरका सल्लाहकार उमेश पराजुलीले महानगरको सार्वजनिक आह्वानमा आफूहरू पनि सहभागी भई जनसेवा गर्ने मौका पाएकोमा खुसी व्यक्त गरे । व्यावसायिक हिसाबले पनि सामाजिक उत्तरदायित्व बहनमा यस कार्यले आफूहरूको जवाफदेहितासंगै सहभागितासमेत निश्चित गरेको उनले जनाए । नगरपालिकामा विगतमा भएका बेतिथिहरूलाई सच्याउँदै नयाँ नेतृत्व अगाडी बढ्ने छ भन्ने विश्वास समेत उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्