Logo

अतिक्रमित जग्गा खाली गर्न सहकारी बोर्डको माग

राष्ट्रिय सहकारी विकास बोर्डको जग्गा अतिक्रमणमा परेको छ । केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क) सँगैको जग्गा जमिन अतिक्रमणमा परेको हो । २ विघा ९ कट्टठा ११ धुर जग्गा अतिक्रमणमा परेको बोर्डले जनाएको छ । सो जग्गामा व्यापारिक प्रयोजनका लागि बाँसका टहरा निर्माण भएका छन् ।
शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै अतिक्रमित जग्गा खाली गर्न बोर्डले आग्रह गरेको छ । बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले बसपार्कभन्दा उत्तरतर्फ जग्गा अतिक्रमणमा परेको बताए । जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिकालाई जग्गा खाली गरिदिन पत्रचार गरिएको बताए । पत्रचार गरेपनि जग्गा खाली हुन नसकेको दुखेसो गरे । एक महिनादेखि फुटपाथका व्यापारीहरूलाई अनधिकृत रुपमा बोर्डको खाली जग्गामा राखिएको उनले बताए ।
संघ संस्था, व्यापारीहरूसँग लिखित रुपमा कुनै प्रकारको भाडामा लिने दिने सम्बन्धी करार सम्झौता समेत नगरेको जग्गामा बनेका टहरा तत्काल हटाउन माग गरेको छ । तर, जग्गामा ठेकेदारहरूले व्यापारीलाई राखेर दैनिक भाडा असुल्दै आएका छन् । बोर्डको ७ विघा ९ कठ्ठा ११ धुर जग्गा मध्ये ३ बिघा जग्गा ३० वर्ष अघि नै भरतपुर महानगरपालिकालाई बिक्री गरेको थियो । बाँकी जग्गा मध्ये पनि २ विघा महानगरलाई बसपार्क निर्माणका लागि दिएको छ । बाँकी जमिनमा कृषि बजार भवन निर्माण गर्ने योजना बोर्डले अघि सारेको छ । भवन निर्माणका लागि प्रक्रिया समेत सुरु भइसकेको बोर्डले जनाएको छ ।
विस्तृत बजार सम्भाव्यता अध्ययन, माटो परीक्षण, व्यवसायिक योजना तथा विस्तृत परियोजना प्रस्ताव (डिपिआर), बजार भवन संचालन मोडालिटी लगायत परामर्श सम्बन्धी कार्य भएका छन् । नक्सा पासका लागि बजेट निकासा भईसकेको छ भने ईआईए प्रतिवेदन स्वीकृत भईसकेको बोर्डका उपनिर्देशक अनिल पौडेलले जानकारी दिए । यसअघि नै भवन निर्माणका लागि सरकारले २ अर्ब ५२ करोड ७७ लाख ५३ हजार १ सय ५३ रुपैयाँ ७३ पैसा बजेट सुनिश्चितता गरिसकेको थियो । समयमा ठेक्का हुन नसक्दा बजेट फिर्ता भएको छ । पुन: बजेट सुनिश्चितता गरी भवन निर्माणको काम छिट्टै अघि बढाइने सहअध्यक्ष दवाडीले बताए । राष्ट्रिय सहकारी विकास बोर्ड भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको स्वायत्त निकाय हो । बोर्डका अध्यक्षमा विभागीय मन्त्री रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्