Logo

पोखरा महानगरको ४९ % बजेट खर्च

पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षको जेठ १३ गतेसम्म करिब ४९ प्रतिशत बजेट खर्च गरेको छ । महानगरले करिब साढे १० महिनामा ४९.५ प्रतिशत मात्र विकास (पुँजीगत) बजेट खर्च गरेको हो ।
गत वर्ष पुँजीगत खर्च ७४.३८ प्रतिशत खर्च गरेको महानगरले चालू आर्थिक वर्षमा भने करिब ८० प्रतिशतसम्म खर्च हुने अनुमान गरेको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मेयर मानबहादुर जिसीले जेठ १३ सम्म पुँजीगततर्फ १ अर्ब १९ करोड ४७ लाख ७२ हजार ४ सय ३९ रूपैयाँ र चालू खर्चतर्फ १ अर्ब ६७ करोड ४८ लाख ७८ हजार ७ सय ३९ अर्थात ५३.५ प्रतिशत खर्च भएको बताए ।
महानगरको वाह्य आम्दानीतर्फ करिब ३ अर्ब ९१ करोड रहेकोमा हालसम्म प्राप्त आम्दानी २ अर्ब ७६ करोड रहेको छ । महानगरको आन्तरिक आम्दानीतर्फ २ अर्ब २६ करोड रहेकोमा चालू आर्थिक वर्षको वैशाखसम्म १ अर्ब ४ करोड आम्दानी भएको छ । गत वर्ष महानगरले चालू खर्च भने ८७.३० प्रतिशत अर्थात २८ करोड १५ लाख ३८ हजार ८ सय ४९ रूपैयाँ खर्च गरेको थियो । गतवर्ष कुल आन्तरिक आम्दानी ४९ करोड ५१ लख र कुल बाह्य आम्दानीतर्फ २ अर्ब ५४ करोड रहेको थियो ।
असार मसान्तरसम्म अर्थात चालू आवको बाँकी डेढ महिनामा थप ३० प्रतिशत गरी ८० प्रतिशतम्म पुंजीगत खर्च हुने भएको मेयर जिसीले जनाए । १५ महिने धेरै योजनाको रकम भुक्तानी गर्न बाँकी रहेको र अधिकांश योजनाको टेण्डर भएर काम थालनी भएकाले ८० प्रतिशतको हाराहारीमा पुँजीगत खर्च हुने उनले बताए । देश संघीयतामा गएकाले धेरै नीति नियम तथा कानुन बनाउन समय खर्चिनु परेकाले पनि विगत दुई वर्षमा आफूहरूले सोचेअनुरूपको काम गर्न नसेकको तर सन्तोषजनक भने रहेको उनको भनाइ थियो ।
पोखरा महानगरपालिकाले महानगरपालिकाको कार्यालयबाट सबै वडाको केन्द्रसम्म जोड्न २७ वटा पहुँच मार्ग अर्थात् कनेक्टिङ सडक योजना ल्याएको छ । मेयर जिसीले आगामी एक वर्षभित्र महानगरको कार्यालयदेखि ३३ वटै वडामा सहजरूपमा जाने÷आउने वातावरण सिर्जना गर्न योजना छनोट गरिएको बताए । आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने करिब १ अर्ब १६ करोडको लागतमा उक्त योजना अघि सारिएको उनको भनाइ थियो । सो कामका लागि टेन्डर भई योजना अघि बढेको मेयर जिसीले बताए ।
त्यसैगरी पोखरा महानगरले केन्द्रीय सरकारसँगको साझेदारीमा ४ वटा योजना अगाडि बढाएको छ । ती योजनामा महानगरले १५ करोड ६८ लाख र केन्द्रीय सरकारले ११ करोड ४५ लाख विनियोजन गरेका छन् । उक्त योजनामा विजयपुर कालिकाहुँदै बेगनास सडक, बैदाम पामे घाँटछिना सडक, घाँटछिना दमदमे सिदाने सडक र मोहरिया लामस्वारा स्याङखुदी आनन्दज्योति लप्सीडाँड सडक रहेका छन् । सिर्जनाचोकमा अत्याधुनिक आकाशेपुल निर्माण गर्न काम अघि बढाइएको मेयर जिसीले जनाए । साथै ७ स्थानमा पक्की मोटेरेबल पुल निर्माण गर्न बोलपत्र आह्वान गरी निर्माण कम्पनी छनोट प्रक्रिया समेत सम्पन्न गरिएको महानगरले जनाएको छ ।
त्यसैगरी गण्डकी प्रदेश सरकारसँग मिलेर महानगरले ९ वटा योजना अगाडि बढाएको छ । उक्त योजनाको सम्झौता भई कामसमेत सुरु भएको महानगरले जनाएको छ । ड्यामसाइड माछापुच्छे« प्रतिविम्ब पार्क निर्माणको काम सुरु भएको छ । उक्त योजनाका लागि महानगरले १२ करोड ५६ लाख र प्रदेश सरकारले ४ करोड ६० लाखको लागत साझेदारीमा काम हुने भएको मेयर जिसीले बताए । त्यस्तै सुइखेत खोला नियन्त्रण, स्मार्ट शौचालय निर्माण, लेखनाथ साना सहरी खानेपानी आयोजना, आर्बा मौजा कुलायन मार्ग, काहुँखोलादेखि ¥यालेचौर अतिघर सडक, जनचेतना चिलाउने खर्क बनस्पनी तिलाहर शिवालय सडक, भलाम ¥यालेचौर बिसौना मौजा सिक्लेस सडक, संगम नगर दुम्रीखेत सोती सडक र माछापुच्छे« प्रतिविम्ब पार्क निर्माण गरिने महानगरले जनाएको छ ।
त्यसैगरी सार्वजनिक निजी साझेदारसम्बन्धी विधि निर्माण गरी सार्वजनिक निजी साझेदारी गर्न आशयपत्र माग गरी ५ वटा योजना अघि बढाइएको महानगरले जनाएको छ । सराङकोट पूर्वाधार विकास, सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास, पाताले छाँगोमा सिसाको पुल निर्माण, बेगनास एवं फेवा तालमा वाटर स्पोर्टस् सञ्चालन र डिजिटल होर्डिङ बोर्ड व्यवस्थापन गरिने भएको छ ।

मापदण्ड विपरितका संरचना हटाउने
पोखरा महानगरपालिकाले पहिलो चरणमा फेवाताल किनारबाट करिब ३० मिटर क्षेत्रभित्र पर्ने मापदण्डविपरितका भौतिक संरचना हटाउने भएको छ । मेयर जिसीले सर्वोच्चको फैसला कार्यान्वयन गर्न पनि आफूहरूले पहिलो चरणमा फेवातालको किनाराबाट ५ देखि ३० मिटरभित्रका मापदण्डविपरित निर्माण भएका भौतिक संरचना हटाइ छाड्ने दाबी गरे ।
फेवाताल किनारबाट ६५ मिटरभित्रका भौतिक संरचना हटाउने अभियानअन्तर्गत हालसम्म प्रदेश र संघ सरकारले सिमांकन गर्न नसके पनि आफूहरूले पहिलो चरणमै ३० मिटरभित्र पर्ने गरी भौतिक संरचना हटाउने अभियानमा काम सुरु गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्