Logo

‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’

नेपालीलाई पर्यटक भिसामा कडाइ

पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ । पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै कडाइ गरेको हो ।
भिजिट भिसामा बाहिरिने र अन्य प्रयोजनमा संलग्न हुने नेपालीको संख्या बढेपछि कार्यविधिमार्फत व्यवस्थित गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारीले बताए । उनले भने, “व्यक्तिको स्वतन्त्रतामाथि सरकारले अंकुश लगाउन मिल्दैन । त्यसैले पर्यटक भिसाको दुरुपयोग नियन्त्रण गर्नको लागि भिसालाई व्यवस्थित र जोखिम कम गर्ने हिसाबले सन्तुलन कायम गर्न खोजिएको हो ।”
गृह मन्त्रालयबाट स्वीकृत भएको कार्यविधिले पछिल्लो समय पर्यटक भिसामा विदेश प्रस्थान गर्ने र अलपत्र पर्नेको संख्याको न्यूनीकरण तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास महानिर्देशक तिवारीको छ । यसका लागि विभाग मातहतका कार्यालयमा सफ्टवेयर प्रणाली विकास गरेर कार्यान्वयनन गरिने उनले बताए । कार्यविधिले १६ प्रकृतिको भिसा वर्गीकरण गरेर पर्यटक भिसामा प्रस्थान अनुमति प्राप्त गर्नको लागि पेश गर्नुपर्ने कागजातहरु विभाजन गरेको छ । पर्यटकको रुपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्यले परिवारका सदस्यहरूबीच नातासम्बन्ध खुल्ने सरकारी कागजात पेश गर्नु पर्नेछ । कम्तिमा चार लाख रुपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आवद्धता खुल्ने कागजात र प्रणालीमा निवेदन पेश गर्ने दिनमा कम्तीमा दुई लाख रुपैयाँ बैंक मौज्दात रहेको बैंक स्टेटमेन्टका साथै आम्दानीका आधारमा सरकार (संघ, प्रदेश र स्थानीय) लाई कर तिरेको प्रमाण पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण पेश गर्नु पर्नेछ भने वार्षिक आम्दानी, कर तिरेको प्रमाण र बैंक मौज्दात परिवारका सदस्य मध्ये कुनै एक वा एकभन्दा बढीको भए पनि हुनेछ । साथै परिवारका सदस्य सञ्चालक रहेको संस्था/कम्पनीको आम्दानी, कर प्रणालीमा आवद्धता र बैंक मौज्दातलाई समेत लिन सकिनेछ । विदेशमा रहेका आफन्त भेट्न जाने परिवारका सदस्यको हकमा भने परिवारका सदस्यबीच नाता सम्बन्ध खुल्ने सरकारी कागजात, गन्तव्य मुलुकमा रहेको आफन्तको राहादानी र भिसा/आवास अनुमतिपत्रको छायाप्रति, विदेशमा रहेको आफन्तले गरेको प्रायोजनपत्र, आफन्त कार्यरत रहेको कम्पनी वा निकायले निज कार्यरत रहिरहेको व्यहोराको कम्तीमा पन्ध्र दिनभित्रको पत्र पेश गर्नु पर्नेछ । दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण वा गन्तव्य मुलुकमा भएको आफन्तको सम्पर्क नम्बरसहितको विवरण भनिएको छ । त्यस्तो सिफारिसपत्र विदेशस्थित नेपाली दूतावासको अनलाइन पोर्टलबाट रुजु गर्न सकिने व्यवस्था सम्बन्धित दूतावासले मिलाउने कार्यविधिमा उल्लेख छ । यसका लागि कम्तिमा ७ दिन अगाडि विभागको अनलाइन प्रणालीबाट निवेदन दिनु पर्नेछ ।
कार्यविधिले नियमित यात्रु, उच्च शिक्षा हासिल गरेका र विगतमा लामो समय विदेश बसेका व्यक्तिहरूले नियमित यात्रुको हकमा भने भारत, मलेसिया र खाडी मुलुकबाहेक कम्तिमा दुई अन्य मुलुकको भ्रमण गरेको अभिलेख पेश गर्नुपर्ने भनेको छ । यस खण्डमा भने ट्रान्जिट प्रयोजनको लागि सो अभिलेख आवश्यक नरहेको जनाइएको छ ।
त्यस्तै, उच्च शिक्षा हासिल गरेकाको हकमा प्राविधिक विषय भए कम्तिमा डिप्लोमा तह र अन्य विषयको हकमा स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र र विगतमा विदेश बसेका व्यक्तिको हकमा भारत, मलेसिया र खाडी मुलुकबाहेक अन्य मुलुकमा कम्तीमा दुई वर्ष बसेको देखिने अभिलेख आवश्यक पर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधि खारेज गर्न नाट्टाको माग
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स संघ (नाट्टा)ले गृह मन्त्रालयले जारी गरेको ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमतिसम्बन्धी कार्यविधि २०७९’ ले नेपालको पर्यटन व्यवसायलाई प्रत्यक्ष र गम्भिर असर पार्ने जनाएको छ । आइतबार नाट्टाका अध्यक्ष रमेश थापाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाली पर्यटकहरुलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधानहरु राखेको र एक वा अर्को बहानामा नेपाली पर्यटकहरुको स्वतन्त्रतापूर्वक घुमफिर गर्न पाउने नैसर्गिक अधिकार समेतलाई चुनौती दिएकोप्रति पर्यटन व्यवसायीहरुको छाता संगठन (नाट्टा) कडा आपत्ति प्रकट गर्दछ ।”
गैरकानुनी तवरबाट नेपाली नागरिकलाई विदेश लैजाने र अलपत्र पार्ने घटनाहरु नियन्त्रणमा सरकार गम्भिर हुनुपर्ने कुरामा नाट्टा सहमत रहेको अध्यक्ष थापाको भनाइ छ । तर वैदेशिक रोजगार व्यवसायी, श्रम विभाग तथा अध्यागमनका कर्मचारीहरुबाट मात्र सम्भव हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्नुको साटो भ्रमणमा जान चाहने पर्यटक र भ्रमण व्यवस्थापन गर्ने पर्यटन व्यावसायीहरुलाई निषेध, हतोत्साहित गर्ने नियत भएको अध्यक्ष थापाले बताए । उनले भने, “यसले गर्दा ट्राभल एन्ड टुरको व्यवसायलाई समेत असर गर्ने र टिकटको लागि विभागको पूर्व स्वीकृति लगायतका कानुनी व्यवस्थाले असहज हुनेछ ।” कार्यविधिले नेपाली पर्यटक गन्तव्य देश जानुपूर्व कम्तीमा २ वटा देशको भ्रमण गरेको हुनुपर्ने, गन्तव्य मुलुकको होटलको वेबसाइटमा खुल्नेगरी होटल बुकिङको प्रमाण पेस गर्नुपर्ने, ट्राभल एजेन्सीहरुले तोकिएको मुलुकमा पर्यटक भिसामा भ्रमणका लागि जाने नेपाली पर्यटकको टिकट व्यवस्थापन गर्नुपूर्व अध्यागमन विभागबाट स्वीकृति लिनु पर्ने, आफ्नो एजेन्सीमार्फत पर्यटक भिसामा गएका नेपाली पर्यटकलाई तोकिएको मितिमा नेपाल फर्काउने र त्यसको प्रतिवेदन अध्यागमन विभागमा पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था पूर्णत: पर्यटन व्यवसाय विरोधी प्रावधानहरु भएको नाट्टाले ठहर गरेको छ ।
सरोकारवाला व्यवसायी तथा सघ/संस्थासँग सामान्य छलफल समेत नगरी एकतर्फी ढंगबाट कार्यविधि ल्याइएको भन्दै नाट्टाले आपत्ति जनाएको छ । यसबाट पर्यटकीय उद्देश्यबाट विदेश भ्रमणमा जान चाहने सबै नेपाली पर्यटक र भ्रमण व्यवस्थापन गर्ने ट्राभल एजेन्सीहरु गैरकानुनी उद्देश्यबाट प्रेरित हुन्छन् भन्ने भाव झल्कने नाट्टाको भनाइ छ । गैरजिम्मेवार र अशोभनीय कार्यविधि अगाडि बढाइनु आधुनिक, सभ्य र खुला समाजलाई नसुहाउँदो हुने हुँदा कार्यविधिलाई तत्काल खारेज गर्न सरकारसँग नाट्टाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्