Logo

गाउँमै विद्यालय हुँदा बालबालिकालाई सहज

तेह्रथुमको लालीगुराँस नगरपालिका–५ सिरीसेका बालबालिका घरनजिकै विद्यालय नहँुँदा घण्टांै लामो बाटो हिँडेरै विद्यालय पुग्नु पथ्र्यो । वर्षात्को समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहाँका बालबालिकालाई सहज भएको छ ।
नगरपालिकाले यहाँका बालबालिकाको समस्यालाई मध्यनजर गर्दै विद्यालय स्थापनामा गरेको हो । विद्यालय स्थापनासँगै अत्याधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गरिने नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताए । “विद्यलायमा बालबालिकालाई कम्प्युटर शिक्षाका साथै दृष्यचित्र प्रविधिबाट शिक्षा दिने तयारी गरेका छौं । गाउँका बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यका साथै शिक्षालाई प्रविधिमैत्री बनाउने हाम्रो लक्ष्य हो,” माबोहाङले भने । विद्यालयको भवन निर्माण गर्न नगरपालिकाले २ लाख ५० हजार रकम विनियोजन गरेको थियो । नगरपािलका सहयोग स्थानीयबासीको श्रमदानले भवन निर्माण सम्पन्न भएको छ । भवन सम्पन्न भएसँगै विद्यालयमा पठनपाठनसमेत सुरु भएको छ । बालकक्षामा २० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका सुशीला लिम्बुले बताइन् ।
गाउँमै विद्यालय स्थापना भएपछि यहाँका नागरिकले स्थानीय सरकार नागरिकको समस्यामा साथमै रहेको महसुस गरेका छन । घरनजिकै बिद्यालय नहुँदा नानीहरूलाई विद्यालय पुर्‍याउन नै समस्या भएको स्थानीय वेदना लिम्बुले बताइन् । उनी भन्छिन्, “गाउँमै विद्यालय स्थापनाले नानीहरूलाई सजिलोमात्रै भएको छैन हामीलाई समेत राहत मिलेको छ ।” गाउँमै विद्यालय भएपछि बिहीबारमात्रै औपचारिक रूपमा विद्यालयको उद्घाटन गरी विद्यालय सञ्चालनमा आएको छ । विद्यालयमा नगरपालिकाले शिक्षक तथा शैक्षिक सामग्री, पुस्तक व्यवस्थापन गरेको छ । विद्यालय स्थापनाका लागि स्थानीय लोकमान लिम्बु मादेनले नि:शुल्क जग्गा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्