Logo

ऋणमा डुबेको क्याम्पसलाई नगरपालिकाको एक करोड

गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले यस आर्थिक वर्षमा एक करोड सहयोग गर्ने भएको छ । सञ्चालक समितिले आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको शैक्षिक धरोहर भनिएको रेसुंगा बहुमुखी क्याम्पसलाई नगरपालिकाले एक करोड सहयोग गर्ने भएको हो ।
नगरप्रमुख खिलध्वज पन्थीले शनिबार बिहान पत्रकार सम्मेलन आयोजना गरी गुल्मीको भाग्य र भविष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व बढेकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए । “गुल्मीको समुन्नतिको आधार रेसुंगा क्याम्पस नै हो,” पत्रकार सम्मेलनमा पन्थीले भने, “नगरपालिका शैक्षिक धरोहर जोगाउन प्रतिबद्ध छ ।” क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट जोगाउनका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने नगरपालिका प्रमुख पन्थीले बताएका छन् ।
“राजनीतिक पार्टीमा क्रियाशील प्राध्यापक छन् । उनीह”को कटौतीबीना क्याम्पसको आर्थिक दायित्व घट्दैन, के गर्नुहुन्छ ?” भन्ने पत्रकारको प्रश्नमा नगरपालिका प्रमुख पन्थीले आफू निर्मम बन्ने बताएका छन् । उनले कुनै राजनीतिक पार्टी, नातागोता, इष्टमित्र र कुनै बहाना नदेखाई प्राध्यापक र कर्मचारी कटौतीमा सहयोग गर्ने संकेत गरेका छन् ।
आफू नेपाली कांग्रेस गुल्मीको सभापतिसमेत रहेकाले सबै पालिकाका प्रमुखलाई सहयोगका लागि अपिल र आग्रह गरेको पनि बताए । वास्तविक अवस्था सञ्चालक समितिले बाहिर ल्याएको भन्दै पन्थीले अब दीर्घकालीन समाधान सबै मिलेर गर्नुुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्